उपकार लघुवित्तको आईपीओ भोलीदेखि विक्रीमा आउने

उपकार लघुवित्तको आईपीओ भोलीदेखि विक्रीमा आउने


बैंकिङ्ग समाचार, काठमाडौं ।
उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २५ गते शुक्रवारदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो । 

कम्पनीले जारी पूँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने प्रतिशेयर रू. १०० अंकित दरको रू. २ करोड ३६ लाख २५ हजार बराबरको २ लाख ३६ हजार २५० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।  

सर्वसाधारणका लागि निष्काशन गरिने कुल कित्ता शेयरमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात ३ हजार २८१ कित्ता शेयर लघुवित्तका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ । यी बाहेक बाँकी रहेको २ लाख २१ हजार १५६ कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आएको हो । 

यो आईपीओ खरीदका लागि छिटोमा चैत २९ गतेसम्म आवेदन दिन सकिनेछ भने उक्त अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा २०७९ वैशाख ९ गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओ विक्री प्रबन्धकमा नेपाल एसबिआई बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था छ । 

विक्री प्रबन्धकसँगै आईपीओ खरीदका लागि सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयरको वेबसाइट र एपबाट पनि आईपीओ खरीदको लागि आवेदन दिन सकिनेछ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले लघुवित्तको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । हाल रू. ४ करोड २० लाख चुक्तापूँजी रहेको कम्पनीको आईपीओ निष्कासन तथा बाँडफाँट पश्चात यो पूँजी रू. ६ करोड ५६ लाख २५ हजार पुग्नेछ ।