नेप्सेमा भारी अंकको गिरावट, कारोबार रकम भने सामान्य बढ्यो

नेप्सेमा भारी अंकको गिरावट, कारोबार रकम भने सामान्य बढ्यो


नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलबार  भारी अंकले घटेको छ । आज नेप्से ४६.४६ अंकले घटेर २ हजार ४ सय ५२ दशमलब ०६ विन्दुमा रोकिएको हो । सोमबार नेप्से १५.९४ अंकले घटेर २ हजार ४ सय ९७ दशमलब ४७ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज कारोबार रकममा भने सामान्य सुधार भएको छ । आज २ अर्ब ६७ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार १ अर्ब ५८ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।       

शेयर बजार घटेपनि दुई कम्पनीको शेयरमूल्यमा भने १० प्रतिशतले वृद्धि भएको छ । आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । राष्ट्र उत्थानको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १७५६.१० रुपैयाँ पुगेको छ भने नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १४०५ रुपैयाँ पुगेको छ ।    

नेप्सेका अनुसार आज इमर्जिङ नेपालका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । जसको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी लिमेटेडको भएको छ । यस कम्पनीको आज ९ करोड ६७ लाख भन्दा बढीको कारोबार भएको छ ।