दृष्टिविहीनलाई खाता खोल्न र कारोबार गर्ने प्रकृया सहजीकरण गर्न राष्ट्र बैंकलाई अर्थ मन्त्रालयको निर्देशन

दृष्टिविहीनलाई खाता खोल्न र कारोबार गर्ने प्रकृया सहजीकरण गर्न राष्ट्र बैंकलाई अर्थ मन्त्रालयको निर्देशन


बैंकिङ्ग समाचार, काठमाडौं ।
अर्थ मन्त्रालयले फरक दृष्टि क्षमता भएका नागरिकको बैंक खाता खोल्नको लागि सहजीकरण गर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ । मन्त्रालयले चैत्र २० गते मन्त्रीस्तरीय निर्णय गर्दै फरक दृष्टि क्षमता भएका (दृष्टिविहिन) नागरिकहरूले बैंक खाता खोल्न असहज भएको गुनासो आएकोले त्यस्ता फरक दृष्टि भएका नागरिकहरूको हकमा खाता खोल्ने र कारोबार गर्ने प्रकृयामा सरलीकरण गर्न राष्ट्र बैंकलाई निर्देशन दिएको हो । 

दृष्टिविहिनहरुले बैंक खाता खोल्ने र कारोबार गर्ने प्रकृयामा सरलीकरण गरी निजहरूको वायोमेट्रिक प्रणाली, अनुहार पहिचान ( Face Recognition) प्रणाली वा अन्य उपयुक्त र व्यवहारिक व्यवस्थामार्फत् बैंक खाता सञ्चालन हुने व्यवस्था तत्काल सुनिश्चित गर्न मन्त्रालयले अनुरोध गरेको छ । कतिपय एटिएम बुथमा अपाङ्गमैत्री र्‍याम्प  नभएको व्यापक गुनासो आएको हुँदा सो समेत सम्बोधन हुने व्यवस्था गर्न मन्त्रालयले भनेको छ ।

मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रमको सम्बन्धमा अपाङ्गता भएका व्यक्तिहरुसँग गरेको छलफलमा यी विषयहरु उठान भएको थियो । स्पाइनल इन्जुरी नेटवर्कका राष्ट्रिय सल्लाहकार गजेन्द्रसिंह बुढाथोकीको नेतृत्वमा छलफलको लागि गएको डेलिगेसनले बजेटमा अपाङ्गता भएका व्यक्तिको मुद्दाबारे छलफल गरेको थियो । मन्त्रालयमा भएको छलफलमा स्पाइनल इन्जुरी नेटवर्कका अध्यक्ष ऋषिराम ढकाल, राष्ट्रिय अपाङ्ग महासंघका महासचिव राजु बस्नेत, नेपाल नेत्रहीन संघका अध्यक्ष शिशीर खनाल, अपाङ्ग महिला महासंघकी अध्यक्ष निर्मला धिताल, स्पाइनल इन्जुरी नेटवर्कमा सचिव केशव थापा सहितको डेलिगेसनले छलफलमा भाग लिएको थियो ।

छलफलमा मन्त्रालयको तर्फबाट अर्थमन्त्री जनार्दन शर्मा संगै राजस्व सचिव कृष्णहरि पुष्कर, अर्थमन्त्रीका सल्लाहकार डा. सुरेन्द्र उप्रेती, बजेट तथा कार्यक्रम महाशाखा प्रमुख चक्र बहादुर बुढा लगायत उपस्थित थिए ।