वोमी तथा सूर्योदय लघुवित्तको एकीकृत कारोबार शुरु

वोमी तथा सूर्योदय लघुवित्तको एकीकृत कारोबार शुरु


बैंकिङ्ग समाचार, काठमाडौं ।
वोमी लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जरमा गएपछि सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरु भएको छ ।

ती दुई कम्पनीले एक आपसमा मर्जरमा जान नेपाल राष्ट्र बैंकबाट फागुन ५ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट चैत १ गते स्वीकृती पाएपछि चैत १९ गतेबाट एकीकृत कारोबार शुरु गरेका हुन् ।

ती दुई कम्पनी एक आपसमा मर्जरमा गएपछि बनेको कम्पनीको चुक्तापूँजी रू. ७९ करोड १९लाख पुगेको छ । त्यसैगरी मर्जर पश्चात बनेको कम्पनीको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका १३ साँगामा रहने छ ।

एक आपसमा गाभिने सम्झौता भएपछि गत भदौ १६ गतेदेखि ती दुबै कम्पनीको शेयर कारोबार नेप्सेले रोक्का  गरेको थियो । अव आवश्यक प्रक्रिया पुरा गरेर सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको नामबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

एक आपसमा गाभिएर बनेको सूर्योदय लघुवित्त वित्तीय संस्थाको चैत १९ गते बसेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा मोक्ष प्रसाद पंगेनीलाई सोही दिनदेखि लागू हुने गरी आगमी चार वर्षका लागि नियुक्त गरेको छ ।

त्यसैगरी सोही बैठकले नायब प्रमुख कार्यकारी अधिकृतमा प्रमेश आचार्यलाई नियुक्त गरेको छ । त्यस्तै मर्जर पश्चात बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा बिन्दीया श्रेष्ठ प्रधानलाई चयन गरेको छ ।

कम्पनीको सञ्चालकमा बिन्दीया श्रेष्ठ प्रधान,अनन्त कुमार श्रेष्ठ,नरेन्द्र कुमार प्रसाई  र गुडाखर सापकोटा संस्थापक शेयरधनीको तर्फबाट चयन भएका छन् । त्यसैगरी सर्वसाधारण शेयरधनीको तर्फबाट कृष्णराज सिलवाल  र तारा शर्मा नियुक्त भएका छन् । त्यसैगरी स्वतन्त्र सञ्चालकमा भरत सिंह थापा चयन भएका छन् ।