कहिले आउँदै सिवाईसी नेपाल लघुवित्तको आईपीओ ?

कहिले आउँदै सिवाईसी नेपाल लघुवित्तको आईपीओ ?


बैंकिङ्ग समाचार, काठमाडौं ।
सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको आईपीओ आगामी बैशाख पहिलो साताभित्र निष्कासन गर्ने कम्पनीले तयारी गरेको छ ।

लामो समयसम्म आईपीओ निष्कासन रोकिंदा धेरै कम्पनीहरूले एकैपटक अनुमति पाएका थिए । एक कम्पनीको आईपीओ विक्री वितरण नहुँदै दोस्रो कम्पनीको आईपीओ पनि विक्री खुला हुने अवस्था आएपछि केही कम्पनीले निष्कासन मिति पर सारेका हुन् । 

सिवाईसी नेपाल लघुवित्तले पनि एकै साथ धेरै कम्पनीको आईपीओ आउन लागेपछि निष्कासन मिति पर सारेको जानकारी दिएको छ ।

कम्पनीले ३ लाख ९५ हजार ३३६ कित्ता आइपीओ निष्कासन गर्ने छ । उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्रबोर्डबाट चैत्र ९ गते स्वीकृती पाएको थियो ।

विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी ८ करोड २१ लाख रुपैयाँ रहेको छ । आइपीओ निष्कासनपछि पूँजी १२ करोड १६ लाख रुपैयाँ पुग्ने छ ।

कम्पनीले हालसम्ममा ४८ जिल्लामा ७४ शाखा कार्यलयहरुबाट लघुवित्त सेवा दिंदै आएको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले ५ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको छ ।