प्राइम बैंकद्धारा शेयरधनीहरुलाई बोनस शेयरमा लाग्ने कर जम्मा गर्न आग्रह

प्राइम बैंकद्धारा शेयरधनीहरुलाई बोनस शेयरमा लाग्ने कर जम्मा गर्न आग्रह


बैंकिङ्ग समाचार, काठमाडौं ।
प्राइम कमर्सियल बैंकको यस वर्षको १६ प्रतिशत बोनस शेयर साबिक कैलाश विकास बैंकलाई प्राप्ति गरेपश्चात् कायम शेयरधनीहरुले कर तिरेपछि मात्र पाउने भएका छन् ।

कम्पनीले यसवर्ष १६ प्रतिशत बोनस शेयरसँगै शून्य दशमलव ६३ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिएको छ । तर उक्त कर वापतको नगद २०७६ साल फागुन २८ गतेसम्म कायम शेयरधनीहरुको हकमा मात्र लागू हुने कम्पनीले जानकारी दिएको छ ।

उक्त नगद लाभांशबाट विगत आर्थिक वर्षहरुको कर रकम असुल गरि बाँकी रकम मात्र वितरण गर्ने कम्पनीको भनाइ छ । 

कम्पनीले साबिक कैलाश विकास बैंकलाई प्राप्ति गरी गत फागुन २९ गतेदेखि एकीकृत कारोबार शुरु गरेको थियो । यसर्थ फागुन २८ गतेसम्म कायम शेयरधनीहरुमा बोनस शेयर वापतको कर छूट हुने व्यवस्था रहेकाले बोनस शेयर हितग्राही खातामा जम्मा गरिसकिएको जानकारी कम्पनीले दिएको छ । 

कर दायित्व भएका शेयरधनीहरुको हकको बोनस शेयर भने कर जम्मा गरेपछि मात्र जम्मा गरिने कम्पनीले बताएको छ । कर वापतको रकम भुक्तानी गर्दा शेयरधनी नम्बर, शेयरधनीको नाम, शेयरको प्रकार र भुक्तानी गरिने करको सम्बन्धित आर्थिक वर्षसमेत खुलाउन पनि कम्पनीले भनेको छ ।