विश्व बैंकले नेपाललाई १८ अर्ब ३० करोड सहुलियत ऋण उपलब्ध गराउने

विश्व बैंकले नेपाललाई १८ अर्ब ३० करोड सहुलियत ऋण उपलब्ध गराउने


बैंकिङ्ग समाचार, काठमाडौं ।
विश्व बैंकले नेपालको लागि १८ अर्ब ३० करोड (१५ करोड अमेरिकी डलर) रुपैयाँ सहुलियत ऋण प्रदान गर्ने भएको छ ।

नेपालको वित्तिय क्षेत्रका कमी कमजोरीहरुलाई सुधारी वित्तिय क्षेत्रलाई थप समावेशी एवं बलियो बनाउनको लागि विश्व बैंकले उक्त सहयोग उपलब्ध गराउने जनाएको छ ।

नेपालको वित्तिय क्षेत्रको स्थायीत्व सुदृढ गर्न, वित्तिय समस्याका समाधानहरुमा विविधता ल्याउन र वित्तिय सेवा–सुविधाहरुमा सहजताका साथै पहुँच बढाउन “फाइनान्स फर ग्रोथ” अर्थात् “विकासका लागि वित्त” नामक विकास योजना अन्तर्गत विश्व बैंकले नेपाललाई १५ करोड अमेरिकी डलर प्रदान गर्ने भएको छ ।

“विकासका लागि वित्त” योजनाले वित्तिय क्षेत्र सुदृढ गरी, समावेशीता बढाइ गरिबीको रेखामा रहेका तथा उत्पीडनमा परेका मानिसहरु सम्म वित्तिय पहुँच पुर्‍याइ, नेपालको वित्तिय स्वस्थ र बलियो बनाउने विश्व बैंकका माल्दीभ्स, नेपाल र श्रीलङ्काका देशीय निर्देशक फेरिस हदाद–र्जभोसले जानकारी दिएका छन् ।

यस योजनाले नेपालको बैंकिङ क्षेत्रको सुपरीवेक्षण गरी कोभिड–१९ संक्रमणका कारण उत्पन्न बैंकिङ समस्याहरुलाई कसरी न्युनिकरण गर्ने भन्ने बारेमा काम गर्ने छ । यस योजनाले थप बीमा कम्पनी, क्यापिटल लगायतका जोखिम कम गर्ने कम्पनीहरुको स्थापना गरी वित्तिय क्षेत्रमा परिवर्तन ल्याउन सहयोग गर्ने छ ।

यस परियोजनाले नेपाल सरकारले अघि सारेको वित्तीय क्षेत्र सुधार तथा रुपान्तरणको एजेन्डालाई समर्थन गर्दै जलवायु सम्बन्धी जोखिमहरू विरुद्ध वित्तीय क्षेत्रलाई लचिलो बनाई वित्तिय क्षेत्रमा थप स्थिरता कायम गर्ने परियोजनाका लागि विश्व बैंक टास्क समूह प्रमुख पिटर मौस्लीले बताए । यस योजनाले वित्तिय क्षेत्रलाई कम बैंक केन्द्रित बनाउन, निजी लगानीलाई परिचालन गर्न र थप समावेशी वित्तीय क्षेत्रको बलियो जग बसाउन पनि सहयोग गर्ने उनले बताए ।