नेपाल टेलिकम र जीवन विकास लघुवित्तको शेयरमूल्य समायोजन

नेपाल टेलिकम र जीवन विकास लघुवित्तको शेयरमूल्य समायोजन


बैंकिङ्ग समाचार, काठमाडौं ।
चैत ११ गते, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेपाल टेलिकम र जीवन विकास लघुवित्तको शेयरमूल्य समायोजन गरेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले यस दिन नेपाल टेलिकमको २० प्रतिशत बोनस शेयर समायोजन गरेको हो भने जीवन विकास लघुवित्तको ७० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात नेपाल टेलिकमको शेयरमूल्य १ हजार २२० रुपैयाँ र जीवन विकास लघुवित्तको ३ हजार रुपैयाँ कायम भएको छ ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात बिहीबार नेपाल टेलिकमको शेयर प्रतिकित्ता १ हजार ४६५ रुपैयाँ र जीवन विकास लघुवित्तको शेयर प्रतिकित्ता ५ हजार १०० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

आइतबार यही समायोजित मूल्यका आधारमा नेप्सेमा यी दुई कम्पनीहरुको शेयर कारोबार खुल्नेछ ।

नेपाल टेलिकमले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र प्रतिकित्ता २० रुपैयाँ नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्न चैत २४ गते, चौधौँ वार्षिक साधारण सभा डाकेको छ । सो सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेलमा बिहान ११ बजे शुरु हुनेछ । कम्पनीले पहिलो पटक बोनस शेयर वितरण गर्ने प्रस्ताव साधारण सभामा लग्दैछ । यस अघि कम्पनीले हरेक वर्ष नगद लाभांश मात्र वितरण गर्दै आइरहेको थियो।

त्यसैगरी, जीवन विकास लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७० प्रतिशत बोनस शेयर र ३.६८ प्रतिशत नगद लाभांश गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । सोही लाभांश प्रस्ताव पारित गर्न लघुवित्तले चैत २५ गते संस्थाको केन्द्रिय कार्यालय, कटहरी, मोरङ्गमा तेस्रो वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा बिहान १०ः३० बजे शुरु हुनेछ ।

सभाले लाभांशका साथै अन्य लघुवित्तसँग मर्ज अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव सहित अधिकृत पुँजी १ अर्ब रुपैयाँबाट २ अर्ब रुपैयाँ र जारी पुँजी ६० करोड ८४ लाख रुपैयाँबाट १ अर्ब ३ करोड रुपैयाँ पुर्याउने प्रस्ताव समेत सभामा पेश गर्नेछ । साथै सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।