जीवन विकास लघुवित्तको ७०% बोनस लाभांश सुरक्षित गर्ने अन्तिम आज दिन

जीवन विकास लघुवित्तको ७०% बोनस लाभांश सुरक्षित गर्ने अन्तिम आज दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको ७० प्रतिशत बोनस लाभांश सुरक्षित गर्ने आज चैत १० गते, बिहीबार, अन्तिम दिन रहेको छ । लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत १२ गते बुकक्लोज गर्दैछ ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७० प्रतिशत बोनस शेयर र ३.६८ प्रतिशत नगद लाभांश गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । सोही लाभांश प्रस्ताव पारित गर्न लघुवित्तले चैत २५ गते संस्थाको केन्द्रिय कार्यालय, कटहरी, मोरङ्गमा तेस्रो वार्षिक साधारण सभा डाकेको छ । उक्त सभा बिहान १०ः३० बजे शुरु हुनेछ ।

सभाले लाभांशका साथै अन्य लघुवित्तसँग मर्ज अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अखितयारी प्रदान गर्ने प्रस्ताव सहित अधिकृत पुँजी १ अर्ब रुपैयाँबाट २ अर्ब रुपैयाँ र जारी पुँजी ६० करोड ८४ लाख रुपैयाँबाट १ अर्ब ३ करोड रुपैयाँ पुर्याउने प्रस्ताव समेत सभामा पेश गर्नेछ । साथै सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।