तीन लघुवित्तले पूँजी संरचना मिलाउने प्रयोजनार्थ एफपीओ निष्कासन गर्दै

तीन लघुवित्तले पूँजी संरचना मिलाउने प्रयोजनार्थ एफपीओ निष्कासन गर्दै

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
पूँजी संरचना मिलाउन तीनओटा लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने भएको छन् । नेप्सेमा सूचीकृत कम्पनीले सूचीकृत नभएको कम्पनीलाई मर्ज तथा प्राप्ति गरेपछि शेयर संरचना मिलाउनका लागि एफपीओ निष्कासन गर्न लागेका हुन् । 

किसान लघुवित्त वित्तीय संस्था, नयाँ सारथी लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्न नियामक धितोपत्र बोर्डमा निवेदन दिएका हुन् । निवेदन दिएका तीन कम्पनीले बोर्डबाट स्वीकृति पाएपछि एफपीओ निष्कासन गर्नेछन् । 

तीन कम्पनीमध्ये सबैभन्दा बढी किसान लघुवित्तले एफपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको छ । यो कम्पनीले प्रतिकित्ता रू. १२५ मा १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले उक्त एफपीओ निष्कासनका लागि बोर्डमा गत असार २९ गते निवेदन दिएको हो । एनआरएन लघुवित्त वित्तीय संस्थाले दिब्य लघुवित्त वित्तीय संस्था, किसान माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थालाई गाभेपछि एनआरएन लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार शुरु भएको थियो । पछि कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार नाम परिवर्तन गरी किसान लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार गर्दै आएको छ ।

त्यसैगरी नयाँ सारथि लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता रू. ११६ मा ३ लाख २९ हजार ६४९ कित्ता एफपीओ निष्कासन गर्नका लागि गत भदौ ९ गते बोर्डमा निवेदन दिएको हो । संस्थाको विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । नयाँ नेपाल लघुवित्त वित्तीय संस्था र सारथी लघुवित्त वित्तीय संस्था बिच एक आपसमा गाभिएसँगै बनेको नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने तयारीमा रहेको हो । 

त्यसैगरी मिर्मिरे लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता रू. १७७ दशलमव ८ मा ५१ हजार ३१६  कित्ता एफपीओ निष्कासन गर्न कात्तिक २३ गते निवेदन दिएको छ । यस कम्पनीले निष्कासन गर्न लागेको एफपीओको विक्री प्रवन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । यस कम्पनीले नागबेली लघुवित्त वित्तीय संस्था र स्वेडा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरिसकेको छ ।