बैंकिङ्ग समाचार, काठमाडौं ।
बलेफी हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने फागुन २६ गते बिहीबार अन्तिम दिन रहेको छ ।
सिन्धुपाल्चोकका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुले सिन्धुपाल्चोकस्थित कुमारी बैंकको जलविरे शाखा, एनसीसी बैंकको ढाँडे शाखा, ग्लोबल आईएमई बैंकको चौतारा शाखा, लक्ष्मी बैंकको चौतारा शाखा र लक्ष्मी बैंकको खाँडीचौर शाखाबाट आवेदन दिन सक्नेछन् । आईपीओमा आज कार्यालय समयसम्म आवेदन दिन सकिनेछ ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिनसक्नेछन् ।
कम्पनीले जारी पूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँको १० प्रतिशतले हुन आउने १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता आईपीओ आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको हो ।
कुल निष्कासित कित्तामध्ये वातावरण मूल्याङ्कन प्रतिवेदन बमोजिम सिन्धुपाल्चोकको आयोजना प्रभावित क्षेत्रहरु क्रमशः जुगल गाउँपालिकाका वडा नम्बर २, ३ र ४ का लागि ६० प्रतिशत अर्थात १० लाख ९६ हजार ७८२ कित्ता र आयोजनाको १३२ केभी प्रसारण लाइनबाट प्रभावित क्षेत्रहरु क्रमशः जुगल गाउँपालिकाका वडा नम्बर ५ र ७, बलेफी गाउँपालिका १, ३, ६ र ७ तथा सुनकोशी गाउँपालिकाका वडा नम्बर ७ का बासिन्दाका लागि ४० प्रतिशत अर्थात ७ लाख ३१ हजार १८८ कित्ता छुट्याइएको छ ।
कम्पनीले आयोजना प्रभावितलाई आईपीओ बिक्री गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि जारी पूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँको १० प्रतिशतले हुन आउने १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरकै आईपीओ जारी गर्नेछ ।
प्रभावित स्थानीय बासिन्दाका लागि जारी आईपीओमा फागनु २५ गते बुधबार बेलुका साँझ ६ बजेसम्ममा २५ करोड २३ लाख ५३ हजार १०० रुपैयाँ बराबरको सेयर खरीदका लागि माग आवेदन परेको छ । बुधबार बेलुकासम्ममा २५ लाख २३ हजार ५३१ कित्ता सेयर खरीदका लागि आवेदन परेको हो । जुन स्थानीय बासिन्दाका लागि जारी सेयरको १३८।०५ प्रतिशत हो ।
कम्पनीले सिन्धुपाल्चोकका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि गत माघ २७ गतेदेखि १८ लाख २७ हजार ९७० कित्ता आईपीओ जारी गरेको हो ।
प्रतिक्रिया