बैंकिङ्ग समाचार, काठमाडौं ।
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओको बाँडफाँट भएको छ । मंगलवार येलो पेगोडा होटल, जमल काठमाडौंमा भएको बाँडफाँट कार्यक्रममा बढी पाउनेले ११ कित्तासम्म शेयर पाएका छन् । मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँड गर्दा पहिलो चरणमा ७७ हजार ४५६ जनाले १० कित्ताको दरले शेयर पाएका छन् ।
यसरी बाँडफाँट गरी बाँकी रहेको तीन कित्ता शेयर दोस्रो चरणमा थप तीन जनालाई एक कित्ताका दरले बाँडफाँट गरिएको छ । यसरी कम्पनीको आईपीओ बढी पाउनेले ११ कित्तासम्म पाएका छन् ।
कम्पनीको आईपीओ खरिदका लागि आवेदन दिएकामध्य २४ लाख ४९ हजार ६ सय ४५ जना आवेदकको भने हात खाली भएको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटललका अनुसार कम्पनीको आईपीओ खरिदका लागि कुल २५ लाख २७ हजार १ सय १ जना आवेदकहरुबाट २ करोड ८७ लाख ८१ हजार ५ सय २० कित्ताको माग भएको थियो ।
कुल आवेदकहरुमध्य रितपूर्वक नभएका ४ हजार १ सय १६ जनाको आवेदन रद्द भएको थियो । बाँकी २५ लाख २२ हजार ९ सय ५५ जना योग्य आवेदकहरुलाई मात्र बाँडफाँटमा सहभागी गराईएको विक्री प्रबन्धकको भनाई छ ।
कम्पनीले फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म सर्वसाधारणमा आईपीओ निष्काशन गरेको थियो । सार्वजनिक निष्कासन मार्फत विक्री गरेको सहित सर्वसाधारणमा कुल रू. ८ करोड २८ लाख ७५ हजार बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ वितरण गरेको हो ।
हाल कम्पनीको चुक्ता पूँजी रू. १७ करोड २१ लाख २५ हजार रहेको छ । आईपीओ बाँडफाँटपश्चात् यो पूँजी रू. २५ करोड ५० लाख पुगेको छ । हाल संस्थापक तर्फ ६७ दशमलव ५० प्रतिशत स्वामित्व रहेको कम्पनीले सर्वसाधारणमा ३२ दशमलव ५० प्रतिशत शेयर बाँडफाँट गरेको हो ।
प्रतिक्रिया