२६ कम्पनी आईपीओ निष्कासनको स्वीकृति पर्खाइमा

२६ कम्पनी आईपीओ निष्कासनको स्वीकृति पर्खाइमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) का अनुसार अहिले २६ ओटा कम्पनी आईपीओ निष्कासन गर्न स्वीकृतिको पर्खाइमा रहेका छन् । ती कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर विभिन्न समयमा आईपीओ निष्कासनका लागि सेबोनमा निवेदन दिएका हुन् । सेबोनका अनुसार ती कम्पनीले सेबोनसँग कुल ६ करोड ५९ लाख ४९ हजार २८९ कित्ता आईपीओ निष्कासन गर्न निवेदन दिएका छन् ।

आईपीओ निष्कासन गर्न निवेदन दिएका २६ ओटा कम्पनीमध्ये २० ओटा हाइड्रोपावर कम्पनी रहेका छन् । त्यस्तै तीन ओटा लघुवित्त कम्पनी, दुुई ओटा इन्स्योरेन्स कम्पनी र एउटा अन्य समूहको डिस मिडिया नेटवर्क कम्पनी रहेको छ ।

पछिल्लो समय सेबोनमा अध्यक्ष नियुक्त नभएका कारण आईपीओ निष्कासनका लागि निवेदन दिएका कम्पनीहरुले स्वीकृति पाउन ढिलाइ भइरहेको थियो । अहिले भने सेबोनको अध्यक्षमा रमेश कुमार हमाल नियुक्त भइसकेका छन् ।

अब सबै प्रक्रिया पूरा भएका कम्पनीले आईपीओ निष्कासनको अनुमति पाउने सम्भावना बढेको छ । अध्यक्ष नियुक्त हुनुभन्दा केही समय अगाडि मात्र छ ओटा कम्पनीले एकै पटक आईपीओ निष्कासनको अनुमति पाएका थिए । अनुमति पाएका छ ओटा कम्पनीमध्ये बलेफी हाइड्रोपावर र ग्रीन भेञ्चरले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन गरेका छन् ।

यी कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि निष्कासन गरेको आईपीओ बाँडफाँटपछि दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछन् । त्यसैगरी स्वीकृति पाएका कम्पनीमध्ये चार ओटा कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गरिसकेका छन् ।

\"\"