नेष्डो समृद्ध लघुवित्तको आईपीओ मंगलवार बाँडफाँट हुने, ७७ हजार ४५६ जनाले शेयर पाउने

नेष्डो समृद्ध लघुवित्तको आईपीओ मंगलवार बाँडफाँट हुने, ७७ हजार ४५६ जनाले शेयर पाउने


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आगामी मंगलवार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आइतवार प्रि अलोटमेन्ट सम्पन्न गरी मंगलवार अन्तिम बाँडफाँट गर्ने जानकारी दिएको हो । कम्पनीको आईपीओमा करिब २६ लाखले आवेदन दिएका छन् । मागभन्दा ३८ गुणा आवेदनपरेको यस कम्पनीको आईपीओ ७७ हजार ४५६ जनाले मात्र पाउनेछन् ।

कम्पनीले सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको ७ लाख ७४ हजार ५६३ कित्ता आईपीओ आगामी मंगलवार बाँडफाँट गर्नेछ । हालको बाँडफाँट ब्यवस्था अनुसार न्यूनतम १० कित्तासम्म माग गर्ने योग्य आवेदकहरुमध्यबाट ७४ हजार ५६३ जनालाई गोलाप्रथाका माध्यमबाट पहिलो चरणमा १० कित्ताका दरले शेयर बाँडफाँट हुनेछ । त्यसपछि बाँकी रहेको ३ कित्ता शेयर थप तीन जनाले एक कित्ताका दरले पाउँनेछन् । यसरी हेर्दा कम्पनीको आईपीओ बढी पाउनेले ११ कित्तासम्म प्राप्त गर्नेछन् । 

कम्पनीले फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म सर्वसाधारणमा आईपीओ निष्काशन गरेको थियो । सार्वजनिक निष्कासन मार्फत विक्री गरेको सहित कुल रू. ८ करोड २८ लाख ७५ हजार बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ कम्पनीले सर्वसाधारणमा वितरण गर्न लागेको हो । सर्वसाधारणमा वितरण हुने कुल कित्ता शेयरमध्य शून्य दशमलव ५ प्रतिशत दरको १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेको छ । 

कम्पनीको  यो आईपीओलाई इक्रा रेटिङ्ग नेपालले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा औसत जोखिम रहेको संकेत गर्ने 'इक्रा एनपी आईआर डबल बि प्लस' रेटिङ्ग प्रदान गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी रू. १७ करोड २१ लाख २५ हजार रहेको छ । आईपीओ बाँडफाँटपश्चात् यो पूँजी रू. २५ करोड ५० लाख पुग्नेछ ।