नबिललाई बंगलादेश बैंक प्राप्ति गर्न राष्ट्र बैंकले दियो सैद्धान्तिक स्वीकृति, ६ महिना भित्र एकीकृत कारोबार हुने

नबिललाई बंगलादेश बैंक प्राप्ति गर्न राष्ट्र बैंकले दियो सैद्धान्तिक स्वीकृति, ६ महिना भित्र एकीकृत कारोबार हुने


बैंकिङ्ग समाचार, काठमाडौं ।
नबिल बैंकमा नेपाल बंगलादेश बैंक गाभ्नका लागि नेपाल राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति दिएको छ । राष्ट्र बैंकको हालै बसेको सञ्चालक समितिको बैठकले नबिल बैंकमा नेपाल बंगलादेश बैंक गाभ्नलाई सहमति दिएको हो ।

यस स्वीकृति पाप्ति पछि आगामी ६ महिनाभित्र नबिल बैंक र नेपाल बंगलादेश बैंक बीच एकीकृत कारोबार हुने भएको छ । बैंक तथा वित्तीय संस्थाको नियामक निकाय राष्ट्र बैंकले नबिल बैंकले बंगालादेश बैंकलाई गाभ्न अनुमति दिने निर्णय गरेसँगै दुई बैंकबीच एक्विजिसनमा जान बाटो आधिकारिक रुपमा खुलेको हो ।

राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले नबिल र बंगलादेश बैंकलाई एक्विजिसनमा जानका लागि सैद्धान्तिक सहमति (एलओआई) दिने निर्णय गरेको राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए । ‘नबिलले बंगलादेश बैंकलाई गाभ्ने सम्बन्धि प्रस्ताव राष्ट्र बैंकको सञ्चालक समितिमा लगिएको थियो’, उनले भने, ‘उक्त प्रस्ताव सञ्चालक समितिले पारित गरेको छ ।’ योसँगै दुई बैंक एक्विजिसनमा जान बाटो खुलेको छ ।

एलओआई पाएपछि ६ महिनाभित्र सबै मापदण्ड पूरा गरी एक्विजिसनमा गइसक्नुपर्ने कानुनी व्यवस्था छ । सोही व्यवस्था बमोजिम आउँदो ६ महिनाभित्र दुई बैंकको एकीकृत कारोबार सुरु हुने ती अधिकारीले बताए ।

गत पुस २९ गते नबिल बैंक र नेपाल बंगलादेश बैंकले मर्जर सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।