बैंकिङ्ग समाचार, काठमाडौं ।
सरकारले पैसाको अत्यधिक आवश्यकता भएको भन्दै नेपाल टेलिकमबाट एडभान्स मै नगद लाभांश लगेको छ । सरकारले ३ अर्ब रुपैयाँ बराबरको नगद लाभांश लगेको नेपाल टेलिकम स्रोतले जनाएको छ।
“साधारण सभा गर्न ढिलाइ हुँदै गइरहेको समयमा सरकारले भने एडभान्स स्वरूप ३ अर्ब रुपैयाँ लग्यो” उक्त स्रोतले भनेको छन् ।
नेपाल टेलिकमको साधारण सभा पुस मसान्त भित्रै गर्नु पर्ने हो । तर उसले अहिलेसम्म पनि लाभांश र साधारण सभा दुवै घोषणा गर्न सकेको छैन । टेलिकमले लाभांश घोषणा गर्न ढिलाइ गर्दै गइरहेको अवस्थामा लाभांश बापत पाउने रकम पहिले नै लैजानुलाई एडभान्स लाभांशको रुपमा लिइएको हो ।
सरकारले लगेको तीन अर्ब रुपैयाँलाई हिसाब गर्दा सरकारले कम्पनीको बितरण याग्य फण्डबाट २० प्रतिशत हुन आउने पैसा लगेको बताइएको छ । यस अर्थमा अब कम्पनीले कम्तीमा पनि २० प्रतिशत नगद लाभांश घोषणा गर्नेमा कुनै दुबिधा नहुने टेलिकम स्रोत बताउँछ ।
“टेलिकमले कति लाभांश दिने भन्ने यकिन भई सकेको अवस्था छैन । तर सरकारले लगेको नगदलाई हिसाब गर्ने हो भने कम्पनीले उक्त रकम मिलान गर्न पनि २० प्रतिशत नगद लाभांश हुने पक्का छ” स्रोतले भन्यो ।
यति बेला सरकारलाई निर्वाचन खर्च जुटाउन धौ धौ परिरहेको छ । जसले गर्दा पनि सरकारले आम्दानी हुने ठाँउको रकम पहिले नै लैजाने चलन छ । यसै पनि टेलिकम सरकारको लागि राम्रो आम्दानीको स्रोत मध्ये पर्छ । अघिल्लो वर्षमा समेत निर्वाचनकै कारण कम्पनीको साधारण सभा ढिलो भएको थियो ।
अघिल्लो वर्ष पनि निर्बाचनको लागि पैसा चाहिने भन्दै उसको लाभांश घोषणा पछि सारिएको थियो । पछि निर्वाचन नहुने पक्का पक्की भएपछि मात्रै टेलिकमले लाभांश र साधारण सभा घोषणा गरेको थियो । गत वर्ष कम्पनीले ४० प्रतिशत नगद लाभांश दिएको थियो ।
प्रतिक्रिया