नोट धुल्याउने कार्यलाई आधुनिकीकरण गर्न ब्रिकेट बनाउने बीएसबीएस मेसिनको शुभारम्भ

नोट धुल्याउने कार्यलाई आधुनिकीकरण गर्न ब्रिकेट बनाउने बीएसबीएस मेसिनको शुभारम्भ

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नोट धुल्याउने कार्यलाई आधुनिकीकरण र यान्त्रिकरण गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको बैंक नोट स्रेडिङ एण्ड ब्रिकेटिब सिस्टम (बीएसबीएस) को नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयमा औपचारिक शुभारम्भ भएको छ । शुक्रबार आयोजित कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले बीएसबीएस मेसिनको स्वीच अन’ गरेर शुभारम्भ गरेका हुन् । 

चलनचल्तीको निम्ति अयोग्य ठहरिएका नोटलाई जलाएर नष्ट गरिँदै आइएकोमा अब बीएसबीएस मेसिनको प्रयोगमार्फत स–साना टुक्रा बनाउने र स्वचालित प्रविधिबाट ब्रिकेट उत्पादन गर्न लागिएको हो । यस्तो नचल्ने पैसाबाट ब्रिकेट बनाउने उद्देश्यले गभर्नर अधिकारीले राष्ट्र बैंकको विराटनगर कार्यालयमा बैंक नोट स्रेडिङ एण्ड ब्रिकेटिङ सिस्टम (बीएसबीएस) को शुभारम्भ गरेका छन् ।

गभर्नर महाप्रसाद अधिकारीले बीएसबीएस मेसिनको ‘स्वीच अन’ गरेर यसको शुभारम्भ गरेका हुन् । विराटनगर कार्यालयमा औपचारिक नोट धुल्याउने कार्यलाई आधुनिकीकरण र यान्त्रिकरण गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको हो ।

सो अवसरमा गभर्नर अधिकारीले बैंकको कार्यसम्पादनलाई आधुनिक र प्रविधिमैत्री बनाउने सन्दर्भमा बीएसबीसको सुरुआत एउटा महत्वपूर्ण उपलब्धि रहेको धारणा राखेका छन् । बीएसबीएसमार्फत तयार गरिने ब्रिकेट प्रयोगको सम्भावित क्षेत्रबारे अध्ययन भइरहेको उनले बताए ।

साथै बीएसबीएसलाई व्यवस्थित तुल्याउन नोट धुल्याउने नियमावली संशोधन र यससम्बन्धी कार्यविधि तर्जुमाको प्रक्रिया अन्तिम चरणमा पुगेको गभर्नर अधिकारीले बताए ।

बीएसबीएस मेसिनले कटन, पोलिमरलगायत सबै किसिमका बैंक नोटका प्याकेट र बन्डललाई टुक्र्याएर ब्रिकेट तयार गर्दछ । उक्त मेसिनमा दुई वटा खण्ड रहन्छन् । पहिलो खण्डले नोटलाई टुक्र्याउने कार्य गर्छ भने दोस्रो खण्डले टुक्र्याइएको नोटबाट ब्रिकेट तयार गर्छ । उक्त मेसिनमा एक पटकमा २०० केजीसम्म बैंक नोट राख्न सकिन्छ र मेसिनले प्रतिघण्टा १०० केजी नोटलाई टुक्र्याउने क्षमता राख्छ ।

यस्तो टुक्राको औसत आकार ६*६ मि.मि. हुनेछ । यसरी टुक्र्याइएको नोटलाई प्रतिघण्टा २०० केजीको दरले प्रशोधन गरी ब्रिकेट तयार गर्न सकिन्छ । बीएसबीएस मेसिनलाई प्रतिवर्ष एक हजार घण्टासम्म सञ्चालन गर्न सकिनेछ ।

यस्तो ब्रिकेट ईटाभट्टा, कागज कारखाना, कोइला प्रयोग गरिने उद्योगसँगै घरायसी प्रयोजनमा समेत उपयोगी हुने विश्वास लिइएको छ ।

थापाथलीस्थित बैंकको निर्माणाधीन भवनसँगै विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयमा उक्त प्रणाली जडान गरी सञ्चालनमा ल्याउने बैंकको योजना छ ।

यी मेसिनहरू नेदरल्याण्डबाट आयात गरिएको हो । बीएसबीएसमार्फत नोट धुल्याउने पद्धतिलाई नीतिगत रूपमा व्यवस्थित गर्ने गरी नोट धुल्याउनेसम्बन्धी प्रचलित नियमावलीमा आवश्यक संशोधन गर्ने प्रक्रियासमेत अघि बढाइएको छ । यसरी सञ्चालनमा ल्याइएको बैंक नोट स्रेडिङ एण्ड ब्रिकेटिङ सिस्टम (बीएसबीएस) वातावरणीय दृष्टिले समेत उपयोगी हुने अपेक्षा राखिएको छ ।