बिमा समिति र आईक्यानबीच सूचना आदानप्रदान एवम् पारस्परिक सहयोग सम्बन्धी सम्झौता

बिमा समिति र आईक्यानबीच सूचना आदानप्रदान एवम् पारस्परिक सहयोग सम्बन्धी सम्झौता

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
बिमा समिति र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)बीच सूचना आदानप्रदान एवम् पारस्परिक सहयोग सम्बन्धी सम्झौता भएको छ । बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष युद्धराज ओलीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सो अवसरमा बिमा समितिका अध्यक्ष सिलवालले बिमा क्षेत्रमा आर्थिक पारदर्शिता, उत्तरदायित्व र विश्वसनीयता कायम राख्न तथा नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) को कार्यान्वयनलाई अझ प्रभावकारी बनाउन सम्झौताबाट महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष ओलीले बिमा कम्पनीहरूमा एनएफआरएसको कार्यान्वयन र सुशासन कायम गर्ने सन्दर्भमा दुई संस्थाबीचको सहकार्य महत्वपूर्ण हुने बताए । बिमा व्यवसायको दिगो विकासका लागि सहकार्य गर्ने, बिमा कम्पनीका वित्तीय गतिविधिहरूलाई थप पारदर्शी एवम् प्रतिस्पर्धी बनाई संस्थागत सुशासन कायम गर्ने र सर्वसाधारण लगानीकर्ताको हित सुरक्षा गर्ने उद्देश्यले समिति र संस्थाबीच सम्झौता भएको हो ।

सम्झौतामा बिमा कम्पनीहरूमा एनएफआरएसको कार्यान्वयनमा सहजीकरण गर्न तालिम कार्यक्रम आयोजना तथा यससम्बन्धी प्राविधिक परामर्श आदान प्रदान गर्ने, बिमा कम्पनीका वित्तीय विवरण तथा प्रतिवेदनको अध्ययन तथा विश्लेषणका सम्बन्धमा आपसी राय परामर्श आदान प्रदान गर्ने र बिमा कम्पनीका लेखापरीक्षणको राय तथा त्यसले पार्न सक्ने असरको विश्लेषण गर्न सहकार्य गर्ने उल्लेख छ ।

यसैगरी, बिमा कम्पनी र कम्पनीसँग सम्बन्धित व्यक्ति तथा संस्थाका सदस्यलाई समिति वा संस्थाले गरेको कारवाहीका बारेमा एकआपसमा जानकारी गराई यस सम्बन्धमा आवश्यक सहकार्य गर्ने तथा संस्था र समितिबाट जारी भएका विभिन्न निर्देशिकाहरूको कार्यान्वयनलाई प्रभावकारी बनाउन सहकार्य गर्ने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।