राष्ट्रिय बिमा संस्थान ५५ वर्षमा प्रवेश

राष्ट्रिय बिमा संस्थान ५५ वर्षमा प्रवेश

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
राष्ट्रिय बिमा संस्थान स्थापनाको ५५ औं वर्षमा प्रवेश गरेको छ । संस्थान ५५ औं वर्ष प्रवेश गरेको अवसरमा बुधबार राजधानीमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थ सचिव मधु मरासिनीले प्रतिष्पर्धी बिमा बजारमा अग्रणी भूमिका निर्वाह गर्न आग्रह गरे । बजारमा रहेको बिमा व्यवसायको मागलाई पूर्ति गर्न सक्नुपर्ने भन्दै उनले सरकारी स्वामित्वको संस्था भएको नाताले बजारको माग र समय सुहाउँदा नयाँ प्रडक्ट, आधुनिक प्रविधि र चुस्त व्यवस्थापनबाट कुशल र प्रतिष्पर्धी संस्था बनाउन सुझाव दिए ।

सरकारी स्वामित्वको बिमा संस्थानले आधुनिक प्रविधिको प्रयोग र चुस्त व्यवस्थापनबाट सञ्चालित निजी क्षेत्रका बिमा कम्पनीहरुसँग प्रतिष्पर्धी बनाउँदै जानुपर्ने चुनौति औंल्याउँदै उनले भने, “अन्तर्राष्ट्रिय प्रचलन र अभ्यास अनुरुप बिमा सेवाको विकास, विस्तार र विकास गरी आकर्षक बिमा योजना, सेवाको विविधिकरण, आधुनिक प्रविधिको प्रयोगमार्फत कार्यकुशलतामा वृद्घि, आर्थिक अनुशासन, व्यावसायिक कार्ययोजनाको अवलम्बन गर्नुहोस ।”

बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपालको जीवन बिमा बजारको विकास र विस्तारमा महत्वपूर्ण योगदान गर्न सदैव प्रयत्नशील रहने बताए । निर्जीवन बिमा व्यवसायबाट सेवा प्रारम्भ गरेको संस्थानले पछि जीवन एवं निर्जीवन दुबै बिमा व्यवसाय हुँदै हाल जीवन बिमा व्यवसाय मात्र सञ्चालन गरी आम नेपाली जनमानसमा बिमा व्यवसायलाई चिनाउन र स्थापित गराउन एवं तत्कालीन अवस्थामा बिमा क्षेत्रमा दक्ष जनशक्तिको उत्पादन र विकासमा खेलेको भूमिका सराहनीय भएको उनले बताए ।

संस्थान सञ्चालक समितिका अध्यक्ष बसन्तराज पाण्डेले बिमाको क्षेत्रमा विश्वसनीन र भरपर्दो सेवा प्रदान गर्दै आएको संस्थान दक्ष जनशक्ति र आधुनिक प्रविधिको माध्यमबाट उच्च स्तरको सेवा प्रवाह गर्न प्रतिवद्घ रहेको बताए ।

चालु आर्थिक वर्षको प्रथम अर्धवार्षिकको अन्त्यसम्ममा जीवन बिमा प्रदायकहरुको जीवन बिमा कोषमा रहेको ४ खर्ब ५२ अर्ब ७९ करोड मध्ये संस्थानको कोषमा ३८ अर्ब ७८ करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ । सो अवधिमा संकलित बिमा शुल्क ७० अर्ब ९१ करोड मध्ये संस्थानको ६ अर्ब ५ करोड रहेको बताइएको छ । त्यसैगरी संस्थानमा हाल कायम रहेको कुल बिमा लेख संख्या ६ लाख ३९ हजार रहेको बताइएको छ ।