बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले यस वर्षको कुल १६ प्रतिशत लाभांश वितरण प्रकृया सम्पन्न गरेको छ । बैंकले यस वर्ष लागि पारित गरेको १२ दशमलव ६१ प्रतिशत बोनस शेयर र कर समेत ३ दशमलव ३९ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।
नगद लाभांश पुसमै वितरण गरेको बैंकले बोनस शेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकरणपश्चात सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो । बैंकले बोनस शेयर धितोपत्र दोस्रो बजारमा फागुन ३ गते सूचीकरण गरेको थियो ।
बैंकको शेयर कारोबार भने २०७८ साल बैशाख ३१ गतेदेखि हिमालयन बैंकसँगको मर्जर प्रयोजनका लागि रोक्का रहेको छ ।
बैंकले मंसिर ५ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर पठाउन लागेको हो । हालसम्म भौतिक शेयर धारण गरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकीकरण गराई खाताको विवरण उपलब्ध गराउन बैंकले अनुरोध गरेको छ ।
मंसिर १७ गते सम्पन्न बैंकको ३५ औँ वार्षिक साधारण सभाले सो दरमा बोनस शेयर र नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सो बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ्गमा सूचीकृत तथा दर्ता भइ अभौतिक रुपमा कारोबार हुने व्यवस्था भइसकेको छ ।
बैंकको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया