दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम भने उल्लेख्य घट्यो

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम भने उल्लेख्य घट्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज सोमबार दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से २५.४१ अंकले बढेर दुई हजार सात सय १८ दशमलब ५१ विन्दुमा पुगेको हो । आइतबार नेप्से ३९.४० अंकले घटेर दुई हजार ६ सय ९३ दशमलब १० विन्दुमा झरेको थियो ।   

त्यस्तै, आज बजार बढेपनि कारोबार रकम भने बढ्न सकेको छैन । आज २ अर्ब ९९ करोड ७६ लाख बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा ४ अर्ब ८ करोड ६४ लाख बराबरको कारोबार भएका थियो ।         

नेप्सेका अनुसार दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीमा युनाइटेड इदी मर्दी हाइड्रोपावर र गुराँस लघुवित्त वित्तय संस्था रहेको छ । युनाइटेड कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेर प्रतिकित्ता ८३४.९० रुपैयाँ पुगेको छ । त्यस्तै आज गुराँस लघुवित्तको शेयरमूल्य ९.६५ प्रतिशतले बढेर प्रतिकित्ता १४३० रुपैयाँ पुगेको छ ।    

त्यस्तै, आज नविल डिभेञ्चरको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यसको शेयरमूल्य एक प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल टेलीकमको भएको छ । यस कम्पनीको आज २६ करोड २५ लाख भन्दा बढीको कारोबार भएको छ ।