माघमा अल्पकालिन लगानीकर्ताले गरे सबैभन्दा बढी नाफा, पूँजीगत लाभकर करिब ५० प्रतिशत बढ्यो

माघमा अल्पकालिन लगानीकर्ताले गरे सबैभन्दा बढी नाफा, पूँजीगत लाभकर करिब ५० प्रतिशत बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
धितोपत्र दोस्रो बजारबाट माघ महिनामा अल्कालिन लगानीकर्ताहरुले बढी नाफा कमाएका छन् । सिडिएस एण्ड क्लियरिङ् लिमिटेड (सिडिएससी)  ले दिएको जानकारी अनुसार पुस महिनाको तुनलामा माघ महिनामा कुल पूँजीगत लाभकरकमा अल्पकालिन लगानीकर्ताको हिस्सा सर्वाधिक रहेको छ । माघ महिनामा कुल पूँजीगत लाभकरमध्य ६९ दशमलव ५२ प्रतिशत अल्कालिन लगानीकर्ताको र ३० दशमलव ४८ प्रतिशत हिस्सा दिर्घकालिन लगानीकर्ताहरुको रहेको छ ।

माघ महिनामा मात्र ८० करोड ५४ लाख रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको सरकारले अल्पकालिन लगानीकर्ताहरुबाट मात्र  ५५ करोड ९९ लाख रुपैयाँ भन्दा बढी पूँजीगत लाभकर संकलन गरेको हो । माघ महिनामा मात्र सरकारले दिर्घकालिन लगानीकर्ताहरुबाट भने २४ करोड ५४ लाख रुपैयाँ भन्दा बढी पूँजीगत लाभकर संकलन गरेको हो । सिडिएससीका अनुसार पुस महिनाको तुलनामा माघ महिनामा पूँजीगत लाभकर ४९ दशमलव ८९ प्रतिशत बढी भएको हो । पुस महिनामा ५३ करोड ७३ लाख रुपैयाँभन्दा बढी मात्र पूँजीगत लाभकर संकलन भएको थियो । 

धितोपत्र कारोबारमा नाफा कमाएका लगानीकर्ताहरुले लाभकर वापतको उक्त रकम सरकारलाई बुझाएका हुन । पुस महिनाको भन्दा माघ महिनामा पूँजीगत लाभकर बृद्धि भएको अर्थ धितोपत्रबजारमा कारोबार गर्नेहरुको नाफा बढेको पुष्टि हुन्छ । माघ महिनामा पुस महिनाको तुलनामा कारोबार रकम र कित्ता दुबैमा बृद्धि भएको छ । 

पुस महिनामा ९० अर्ब ६२ करोड ४४ लाख ५७ हजार रुपैयाँ बराबरको १७ करोड ३२ लाख ५३ हजार ८१४ कित्ता शेयर कारोबार भएको थियो । माघ महिनामा भने १ खर्ब १७ अर्ब ८९ करोड ९० लाख ८१ हजार रुपैयाँ बराबरको २३ करोड ४६ हजार २८९ कित्ता शेयर कारोबार भएको हो । पुस महिनाको भन्दा माघ महिनामा कारोबार रकम ३० दशमलव १० प्रतिशत र कारोबार कित्ता ३२ दशमलव ७८ प्रतिशत बढेको हो । 

नेप्से परिसूचक भने पुस महिनाको अन्तिम कारोबार दिनभन्दा माघ महिनाको अन्तिम कारोबार दिन १ दशमलव ९७ प्रतिशत घटेको थियो । पुस मसान्तसम्म २ हजार ८५७ दशमलव ७५ विन्दुमा रहेको नेप्से परिसूचक माघ मसान्तसम्म २ हजार ८०१ दशमलव ५६ विन्दुमा झरेको थियो । अंकको हिसावमा पुस मसान्तको भन्दा माघ मसान्तसम्ममा ५६ दशमलव १९ अंकले नेप्से परिसूचक घटेको हो ।

धितोपत्र कारोबारमा नाफा भएको खण्डमा मात्र तिर्नुपर्ने यो कर यसै आर्थिक वर्षदेखि व्यक्तिगत लगानीकर्ताहरुको हकमा पनि फरक फरक लागू भएको हो । यस अघि समान ५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका व्यक्तिगत लगानीकर्ताहरुले यसै वर्षदेखि ७ दशमलव ५ प्रतिशतसम्म पूँजीगत लाभकर तिर्न थालेका हुन । दिर्घकालिन लगानीलाई प्रोत्साहन गर्ने उदेश्य अनुरुप सरकारले ३६५ दिनभन्दा अघि खरिद गरेको शेयर विक्री गर्दाको नाफामा ७ दशमलव ५ प्रतिशत र ३६५ दिनभन्दा बढी समय शेयर कायम गरी विक्री गर्दाको नाफामा भने ५ प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था गरेको हो । 

धितोपत्र बजारमा लगानी गर्ने संस्थागत लगानीकर्ताहरुका लागि भने १० प्रतिशत पूँजीगत लाभकरको व्यवस्था छ । धितोपत्र लगानीकर्ताहरुले भारित औषत लागतका आधारमा पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था रहेको छ ।