ज्योति लाइफ इन्स्योरेन्सको साधारण सभा शुक्रबार सम्पन्न, कुल १०.५३ प्रतिशत लाभांश पारित तथा ६ जना सञ्चालक नियुक्त

ज्योति लाइफ इन्स्योरेन्सको साधारण सभा शुक्रबार सम्पन्न, कुल १०.५३ प्रतिशत लाभांश पारित तथा ६ जना सञ्चालक नियुक्त


बैंकिङ्ग समाचार, काठमाडौं ।
ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको अघिल्लो आर्थिक वर्ष २०७६/७७ सम्मको वितरणयोग्य मुनाफाबाट प्रस्तावित १०.५३ प्रतिशत लाभांश पारित भएको छ । पोखरामा शुक्रबार सम्पन्न कम्पनीको चौथो वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो ।

कम्पनीले प्रस्तावित लाभांशलाई साधारण सभाबाट अनुमोदन गरेर वितरण योग्य बनाएको हो । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि माघ २४ गते बुक क्लोज गरेकाले माघ २३ गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्नेछन् ।

वि.सं. २०७७ साल चैत १३ गते सर्वसाधारणमा आईपीओ बाँडफाँड गरेको कम्पनीले पहिलो वर्षबाटै लाभांश वितरण गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब २० करोड रहेको छ । २२ करोड रुपैयाँ बराबरको बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी २ करोड ४२ लाख रुपैयाँ पुगेको छ ।

चौथो वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गरेको छ । यस्तै संस्थापक सेयरधनीहरुबाट चार जना र सर्वसाधारण सेयरधनीहरु दुई जना गरी ६ जना सञ्चालकहरुको निर्वाचन समेत सभाले गरेको छ ।

निर्वाचित सञ्चालकहरुमा संस्थापकतर्फबाट नन्द किशोर शर्मा, आकाश गोल्छा, शर्मिला श्रेष्ठ महर्जन, जयन्त कुमार अग्रवाल र सर्वसाधारणतर्फबाट कौशल नौलखा र प्रिया तायल रहेका छन् । नव निर्वाचित सञ्चालकहरुको शुक्रबार नै बसेको बैठकले यस अघि पनि अध्यक्ष रहेका नन्द किशोर शर्मालाई नै चयन गरेको छ ।

शर्माले पुनः कम्पनीको अध्यक्ष पदमा आगामी चार वर्षे कार्यकालको जिम्मेवारी पाएका हुन् । विसं २०७४ साल माघ १० गते अध्यक्षमा नियुक्त भएका शर्माको चार वर्षे कार्यकाल २०७८ साल माघ १० गते सकिएको थियो ।