सर्वसाधरण क्रिप्टोकरेन्सि कारोबार तथा लगानीमा आकर्षित हुँदा राष्ट्र बैंकलाई किन चिन्ता ?

सर्वसाधरण क्रिप्टोकरेन्सि कारोबार तथा लगानीमा आकर्षित हुँदा राष्ट्र बैंकलाई किन चिन्ता ?


बैंकिङ्ग समाचार, काठमाडौं ।
पछिल्लो समय नेपाल राष्ट्र बैंकले पटक पटक सुचना जारी गर्दै आम नागरिकलाई क्रिप्टोकरेन्सी, हाइपर फण्ड लगायतको कारोबार गैर–कानुनी भएको भन्दै यसमा संलग्न नहुन सचेत गराउदै आईरहेको छ । क्रिप्टोकरेन्सी कारोबारी कानुनी दायरामा आउन र ठगीएको गुनासो राष्ट्र बैंकमा बढ्न थालेपछि राष्ट्र बैंकले सचेत गराएको हो ।

यसबाट प्रस्ट हुन्छ कि, क्रिप्टोकरेन्सीको कारोबार नेपालमा भित्र–भित्रै मौलाइरहेको छ । प्रविधिको प्रयोग गरी भइरहेका क्रिप्टो, हाइपर फण्ड, अनलाईन गेमिङ्ग लगायतका अवैध कारोबार राष्ट्र बैंकलाई चुनौती भएका छन् ।

यसको प्रभावकारी नियमन र अनुगमन गरी, वैदेशिक मुद्रा विचलन हुनबाट रोक्न अर्थ मन्त्रालयले पनि सक्रियता देखाएको छ । नेपालले क्रिप्टोकरेन्सी कारोबारलाई अवैध मानेको छ । यसको पछाडी यस्ता मुद्रा सम्वन्धी कारोबारको नियमन, अनुगमन र लेखाजोखा गर्न सजिलो नहुनुलाई मुख्य आधार मानेको छ ।

यस बिषयमा बोल्दै अर्थमन्त्री जनार्दन शर्मा भन्नुहुन्छ "राष्ट्र बैंक आफ्नो अध्ययन अनुसन्धानमा छ, राजस्व अनुसन्धान विभाग आफ्नो अध्ययन अनुसन्धानमा छ, हामी सबै एकिकृत रुपमा पनि अध्ययन अनुसन्धान गरिरहेका छौं । कसरी यसलाई एउटा उचित ट्रयाकमा राख्ने भन्ने एउटा नयाँ चुनौती आएको छ । क्रिप्टोको मार्फत प्रविधीको बिकासलाई दुरुपयोग गर्ने नयाँ उपाए निस्किएको छ । त्यसैे पनि हाम्रो ऐन, कानुनमा धेरै जटिलताहरु छन् साथै यि सबै कुराहरु कानुन विपरीत पनि छन् । यस्तो किसिमको प्रविधीको दुरुपयोग अहिलेको तथ्य हो । यो तथ्यलाई अब नियन्त्रण गर्नु अति आवश्यक रहेको छ । म सबैलाई यसको नियन्त्रणमा सहयोग जुटाउन र यसमा हामी सबै मद्धत गरौ, लागि परौं भन्ने आग्रह गर्दछु ।"

अवैध ठहर गरिएको यस्तो कारोबारले व्यक्तिलाई मात्र नभई राष्ट्रलाई समेत आर्थिक क्षति पुर्याउने हुँदा कारोबार नगर्न र गरिएको पाईएमा कानुन अनुसार कारबाहीको चेतावनी प्रहरी प्रशासनले पनि दिएको छ ।

साथै प्रहरी प्रवक्ता बिष्णु कुमार के.सी भन्नुहुन्र्छ "क्रिप्टोकरेन्सीको कारोबारबाट धेरै खतरा छ । जुन व्यक्तिले आर्थिक कारोबार अथवा विनिमय गर्छ । कारोबार गर्ने गराउने दुबै पक्षले गरेको कारोबारको बारेमा आधिकारीक निकायहरुलाईृ जानकारी हुदैन । गैर–कानुनी माध्यमबाट सबै कारोबार अथवा व्यवसाय हुन्छ । जसले गर्दा क्रिप्टोकरेन्सीको मार्फत कसैले पनि यस्ता किसिमको आर्थिक कारोबार अथवा विनिमय गर्याे भने त्यो प्रचलित नेपालको कानुन बमोजिम गैरकानुनी मानि कारवाही हुन्छ ।"

नेपालमा कुनै समय हर्बो, युनिटी लगायतका नेटवर्किङ्ग ब्यबसायबाट बाट धेरै जना ठगिएका थिए । थोरै लगानीमा छोटो समयमै धेरै आम्दानी गर्ने लोभमा कतिपयको त घरबार नै उठिवास लागेको थियो । सरकारले यसका सञ्चालकलाई कारवाही त गर्याे तर अझ पनि सर्वसाधारणहरुको ठुलो लगानी उठ्न सकेको छैन ।

राष्ट्र बैंकको पछिल्लो सुचनालाई आधार मान्दा सरकारले अवैध ठहर गर्दा गर्दै अहिले त्यस्तै प्रकृतिको भर्जुअल करेन्सीमा सर्वसाधारणको निकै आकर्षण बढेको छ । सुरु–सुरुमा लगानी गर्नेले राम्रो प्रतिफल पाए जस्तो भएपनि यस्तै अवैध कारोबार बाट ठगिने सम्भावना प्रवल रहेकाले समयमै सचेत हुन आवश्यक रहेको राष्ट्र बैंकले जनाएको छ ।