निफ्रा र सिंगापुरको एसएमईसी कम्पनीबीचको साझेदारीमा पाँचखालमा स्मार्ट सिटी बन्ने

निफ्रा र सिंगापुरको एसएमईसी कम्पनीबीचको साझेदारीमा पाँचखालमा स्मार्ट सिटी बन्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।
पाँचखाल नगरपालिकामा स्मार्ट सिटीको विकास गर्ने प्रयोजनको लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र सिंगापुरस्थित सुरबाना जुरोङ समूहको सदस्य एसएमईसी इन्टरनेशनल प्राइभेट लिमिटेडबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा र एसएमईसीका कन्ट्री हेड सलिम जहाँ फहिमले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा निफ्राका उच्च व्यवस्थापनका पदाधिकारीहरु, एसएमईसीका पदाधिकारीहरु सहित पाँचखाल नगरपालिकाका प्रवक्ता संजय लामाको उपस्थिति रहेको थियो ।

समझदारी पत्रअनुसार, सिंगापुरस्थित ग्लोबल शहरी पूर्वाधार परामर्श फर्म सुरबाना जुरोङ (एसजे) समूहको सदस्य एसएमईसीले प्रस्तावित स्मार्ट सिटीको निर्माण गर्न आवश्यक हुने प्रारम्भिक अध्ययन, परियोजनाको संरचनागत खाका एवं अन्तरास्ट्रिय सफल अभ्यासहरु अध्ययन विश्लेषण सम्बन्धि कार्यहरुमा सहकार्य गर्नेछ । निफ्राले सहकार्यका दौरान एसजे समूहलाई आवश्यक सहजीकरण प्रदान गर्नेछ ।  

त्यस्तै निफ्राले स्मार्ट सिटी विकासका लागि अन्य सरोकारवालाहरूसँगको समन्वयमा आफ्नो अगुवाईमा आवश्यक लगानी जुटाउने कार्य गर्नेछ ।

पाँचखाल नगरपालिकाले नगरपालिकाका जग्गाधनीसँगको समन्वयमा जग्गा प्राप्ति गर्न आवश्यक सहजीकरण र सहकार्य गर्ने छ । यस प्रकारको नेपालकै पहिलो परियोजना पाँचखाल स्मार्ट सिटीले करिब ५५०० रोपनी क्षेत्रफल ओगट्ने छ । स्मार्ट सिटीको विकासका लागि निफ्राले पाँचखाल नगरपालिकासँग छुट्टै समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ ।

यसै कार्यको लागी बजार अध्ययन सम्बन्धि कार्य गर्न निफ्राले अमेरिकास्थित परामर्शदाता कम्पनी जोन्स लाङ लासेल प्रोपर्टी कन्सल्टेन्ट्स प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ । उक्त कम्पनीले सो कार्य अबको आठ हप्ता भित्र समपन्न गरिे प्रतिवेदन पेश गर्ने तय भएको छ ।