बलेफी हाइड्रोपावरको स्थानीय बासिन्दालाई खुला गरेको आईपीओमा १ लाख ३७ हजार कित्ताका लागि पर्‍यो आवेदन

बलेफी हाइड्रोपावरको स्थानीय बासिन्दालाई खुला गरेको आईपीओमा १ लाख ३७ हजार कित्ताका लागि पर्‍यो आवेदन


बैंकिङ्ग समाचार, काठमाडौं ।
बलफी हाइड्रोपावर कम्पनीको आईपीओमा १ लाख ३७ हजार ८० कित्ताका लागि आवेदन परेको छ । 

विक्री प्रबन्धकका अनुसार मंगलवार साँझसम्ममा ७९८ जनाले रू. १ करोड ३७ लाख ८ हजार बराबरको आवेदन दिएका हुन् । कम्पनीले माघ २७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई आईपीओ विक्री खुला गरेको हो । कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् १८ लाख २७ हजार ९७० कित्ता आईपीओ स्थानीय बासिन्दाका लागि निष्कासन गरेको हो । 

जसमध्ये १० लाख ९६ हजार ७८२ कित्ता शेयर सिन्धुपाल्चोक जिल्लाको जुगल वडा नं २, ३, ४ का स्थानियलाई छुट्याएको छ भने बाँकी रहेको ७ लाख ३१ हजार १८८ कित्ता शेयर आयोजनाका १३२ केभी प्रसारण लाइनबाट प्रभावित जुगल गाँउपालिकाका वडा नं ५ र ७, बलेफी गाउँपालिका वाड नं १, ३, ६ र ८ तथा सुनकोशी गाउँपालिकाका वडा नं ७ का स्थानीयलाई छुट्याएको छ । 

उक्त आईपीओमा स्थानीय बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवदेन दिन सक्नेछन् । आईपीओ निष्कासन बन्द मिति छिटोमा फागुन १२ र ढिलोमा २७ गतेसम्म रहेको छ । 

कम्पनीले निष्कासन गरिहेको आईपीओलाई इक्रा नेपालले इस्यूअर रेटिङ डबल बि प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ । 

विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । साथै आवेदकले कुमारी बैंकको जलबिरे शाखा, एनसीसी बैंकको ढाँडे शाखा र ग्लोबल आइएमई बैंकको चौतारा शाखा तथा लक्ष्मी बैंकको खाडीचौर शाखर चौतारा शाखाबाट आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, महालक्ष्मी विकास बैंकको खाडीचौर शाखा तथा लक्ष्मी र सिन्धु विकास बैंकको खाडीचौर, जलविरे तथा लामोसाँगु शाखाबाट आवेदन दिन सक्नेछन् ।