भाग्यमानी ४८ हजार ७९० जनाले पाए जाल्पा सामुदायिक लघुवित्तको शेयर

भाग्यमानी ४८ हजार ७९० जनाले पाए जाल्पा सामुदायिक लघुवित्तको शेयर


बैंकिङ्ग समाचार, काठमाडौं ।
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ । आइतवार साँझ ५ बजे भएको बाँडफाँट कार्यक्रममा भाग्यमानी ४८ हजार ७९० जनाले १० कित्ताका दरले शेयर पाएका छन् । विक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कम्पनीको आईपीओ खरीदका लागि २७ लाख ९ हजार ८५५ जनाले ३ करोड ३१ लाख ४७ हजार १५० कित्ताका लागि आवेदन दिएका थिए । कुल आवेदकहरुमध्य १ लाख १८ हजार १५३ जनाको आवेदन रद्द भएको विक्री प्रबन्धकको भनाइ छ । 

योग्य २५ लाख ८७ हजार ४१२ जना आवेदकहरुको आवेदनलाई बाँडफाँटमा सहभागी गराइएको विक्री प्रबन्धकले जानकारी दिएको छ । कम्पनीले माघ २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो । कम्पनीले सार्वजनिक निष्कासन मार्फत विक्री गरेको ४ लाख ८७ हजार ९०० कित्ता शेयर बाँडफाँट गरेको हो । सर्वसाधारणका लागि छुट्याएको रू. ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता आईपीओमध्ये कम्पनीले शून्य दशमलव पाँच प्रतिशत अर्थात् ८ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरेको छ भने पाँच प्रतिशत अर्थात् २६ हजार १०० कित्ता सामूहिक लागानी कोषलाई बाँडफाँट गरिसकेको छ । 

हाल कम्पनीको चुक्तापूँजी रू. १० करोड ७८ लाख छ । आईपीओ बाँडफाँट पछि यो पूँजी रू. १६ करोड पुग्नेछ । कम्पनीको आर्थिक वर्ष ०७६/७७ सम्मको वास्तविक प्रतिशेयर नेटवर्थ रू. १६४ दशमलव ६० रहेको छ । कम्पनीले वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा तीन गुणासम्मको मूल्य रेञ्ज पहिलो कारोबारका लागि प्राप्त गर्नेछ ।