जनउत्थान सामुदायिक लघुवित्तको नाफामा ५२ प्रतिशतको वृद्धि

जनउत्थान सामुदायिक लघुवित्तको नाफामा ५२ प्रतिशतको वृद्धि


बैंकिङ्ग समाचार, काठमाडौं ।
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासीक वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सो अवधिमा ५२ प्रतिशतले वृद्धि भएको छ ।  

कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा २ करोड ७४ लाख रुपैयाँ नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर ४ करोड १९ लाख रुपैयाँ पुगेको हो । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले नाफा बढ्न पुगेको हो । त्यसैगरी कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा १ करोड ८५ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएकाले पनि नाफा बढ्न टेवा पुगेको हो । 

कम्पनीको चुक्ता पूँजी ११ करोड ३ लाख रुपैयाँ रहेको छ भने जगेडामा रू.१४ करोड २१ लाख सञ्चत गरेको हो । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. १ अर्ब २५ करोड सापटि लिएर, रू. ७ करोड ८२ लाख निक्षेप संकलन गरेर रू. २ अर्ब २१ करोड भन्दा बढी कर्जा लगानी गरेको हो ।

सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ७० दशमलव ९३ प्रतिशत (वार्षिककीकरण), मूल्य आम्दानी अनुपात ३६ दशमलव ०२ गुणा, तरलता अनुपात ४ दशमलव ८७ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २२० दशमलव १७ रहेको छ ।