नेपाल लाइफ इन्स्योरेन्सको नाफा ७० प्रतिशत घट्दा इपीएस पनि उल्लेख्य घट्यो

नेपाल लाइफ इन्स्योरेन्सको नाफा ७० प्रतिशत घट्दा इपीएस पनि उल्लेख्य घट्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १३ करोड ४ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा ४२ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको कम्पनीको नाफा समीक्षा अवधिमा ६९.६४ प्रतिशतले घटेको हो ।

इन्स्योरेन्सले सेयर लगानीमा १७ करोड ६६ लाख ६८ हजार रुपैयाँ नोक्सानी बापत छुट्याएका कारण खुद नाफा उल्लेख्य घटेको हो ।

नाफा घटेपछि इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ८.३१ रुपैयाँले घटेर ३.६२ रुपैयाँमा झरेको छ । इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ १३४.३४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४७३.६६ गुणा छ ।

अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको चुक्ता पूँजी ७ अर्ब १९ करोड ९९ लाख ७० हजार रहेको छ भने जगेडा कोष १ अर्ब ७५ करोड २५ लाख २३ हजार रुपैयाा, जीवन बीमा कोषमा १ खर्ब २४ अर्ब ८३ करोड ९३ लाख रुपैयाँ र महाविपत्ती कोषमा ७१ करोड ७९ लाख ५८ हजार रुपैयाँ सञ्चित छ ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा इन्स्योरेन्सको चुक्ता पूँजी स्थीर रहँदा जगेडा कोष ६६.३६ प्रतिशत, जीवन बीमा कोष २३.२५ प्रतिशत र र महाविपत्ती कोष २०.१७ प्रतिशत बढेको हो ।
पुस मसान्तसम्ममा इन्स्योरेन्सको खुद बीमाशुल्क १८ अर्ब ११ करोड ३ लाख १६ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा ५.९८ प्रतिशतले बढेको हो ।

जीवन बीमा धितो बापत कम्पनीले २१ अर्ब ६७ करोड ८४ लाख रुपैयाँ कर्जा लगानी गरी १ अर्ब १७ करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको छ । पुस मसान्तसम्ममा इन्स्योरेन्सले १६ हजार ७१४ दाबी बापत ६ अर्ब ६२ करोड ७७ लाख रुपैयाँ भुक्तानी गरेको छ ।