गत वर्षको नाफाबाट ७५ प्रतिशत बोनस वितरण गरेको हिमालयन डिष्टिलरीको नाफा यस वर्ष १६.३७% बढ्यो

गत वर्षको नाफाबाट ७५ प्रतिशत बोनस वितरण गरेको हिमालयन डिष्टिलरीको नाफा यस वर्ष १६.३७% बढ्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म हिमालयन डिष्टिलरी लिमिटेडले रू. ४६ करोड २७ लाखभन्दा बढी खुद नाफा गरेको छ । कम्पनीले गत वर्षभन्दा यस वर्ष १६ दशमलव ३७ प्रतिशत बढी यो नाफा गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ३९ करोड ७६ लाखभन्दा बढी यो नाफा गरेको थियो । 

कम्पनीको सञ्चालन नाफा भने यस वर्ष १४ दशमलव ५२ प्रतिशत बढेको छ । गत वर्ष रू. ५६ करोड ५० लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ६४ करोड ७१ लाखभन्दा बढी यो नाफा गरेको हो । 

दोस्रो त्रैमाससम्म कम्पनीको कुल चालू दायित्व रकम रू. ८६ करोड ३९ लाखभन्दा बढी छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको दायित्व रकम ३९ दशमलव २६ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको दायित्व रकम रू. १ अर्ब ४२ करोडभन्दा बढी थियो । 

७५ प्रतिशत बोनस शेयरमार्फत चुक्तापूँजी बढाएर रू. १ अर्ब ५१ करोड ८४ लाख ७९ हजार पुर्‍याएको कम्पनीको प्रतिशेयर आम्दानी भने सामान्य घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ९१ रुपैयाँ ६६ पैसाबाट ३० रुपैयाँ ७१ पैसा घटेर ६० रुपैयाँ ९५ पैसामा झरेको छ । कम्पनीको जगेडा कोष रकम ४८ दशमलव ४२ प्रतिशत बढी रू. ७३ करोड १९ लाखभन्दा बढी कायम भएको छ ।

पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ७३.६१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ २० पैसा रहेको छ।