साना किसान विकास लघुवित्तको ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा सामान्य बढ्यो

साना किसान विकास लघुवित्तको ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा सामान्य बढ्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले ३२ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.७८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३१ करोड ५० लाख रुपैयाँ नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा सामान्य बढेसँगै लघुवित्तको खुद नाफा सामान्य बढ्न पुगेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २.३० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २.४२ प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी २.२७ प्रतिशत बढेको छ। समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ०.९७ प्रतिशतबाट घटेर ०.६० प्रतिशतमा झरेको छ। पुस मसान्तसम्ममा लघुवित्तको इम्पेरमेन्ट चार्ज ४ करोड ५७ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी भने घटेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ५० रुपैयाँ ४० पैसा रहेको लघुवित्तको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ९ रुपैयाँ घटेर ४१ रुपैयाँ ४० पैसा पुगेको छ । सो अवधिसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ३४.६४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २४५ रुपैयाँ ५२ पैसा रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २५.१२ प्रतिशत बढेको छ भने जगेडा कोष १३.५३ प्रतिशत बढेको छ भने सापटी २६.७८ प्रतिशत र कर्जा ३०.६३ प्रतिशत बढेको छ ।