नयाँ सारथी लघुवित्तको दोश्रो त्रैमाससम्मको नाफा ९.५ प्रतिशत घट्यो

नयाँ सारथी लघुवित्तको दोश्रो त्रैमाससम्मको नाफा ९.५ प्रतिशत घट्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको नाफा ४ करोड ६३ लाख १२ हजार रुपैयाँमा सीमित भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ९.५४ प्रतिशतले थोरै हो । गत वर्षको यसै अवधिमा संस्थाले ५ करोड ११ लाख ९८ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी भने १४।२९ प्रतिशतले बढेर १३ करोड २८ लाख ५ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी ११ करोड ६१ लाख ९८ हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ७ करोड ७५ लाख ६९ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको छ ।

त्यस्तै, संस्थाको चुक्ता पुँजी २५ करोड ४९ लाख ५४ हजार रुपैयाँ र जगेडा कोषमा २७ करोड ७५ लाख ४६ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) ३६ रुपैयाँ ३४ पैसा र प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ ८६ पैसा रहेको छ ।