किसान लघुवित्तको नाफा बढेसँगै ईपीएस पनि उल्लेख्य बढ्यो

किसान लघुवित्तको नाफा बढेसँगै ईपीएस पनि उल्लेख्य बढ्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले ४ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.६३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३ करोड ७२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २.३६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ८३.२२ प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्तको अन्य सञ्चालन आम्दानी १४.५१ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ५ प्रतिशत बढेको छ। समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा घटेसँगै सम्भावित जोखिमबापतको व्यवस्थामा कम रकम छुट्याएको छ । जसका कारण लघुवित्तको खुद ब्याज आम्दानीको तुलनामा सञ्चालन मुनाफा वृद्धिदर बढ्न पुगेको हो ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १८ रुपैयाँ ९५ पैसा रहेको लघुवित्तको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ४ रुपैयाँ १० पैसा बढेर २३ रुपैयाँ ४ पैसा पुगेको छ । सो अवधिसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ६६.३५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९४ रुपैयाँ ४४ पैसा रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको जगेडा कोष २४३.५२ प्रतिशत बढेको छ भने सापटी २८.३४ प्रतिशत, निक्षेप २३.११ प्रतिशत र कर्जा ३४.९६ प्रतिशत बढेको छ ।