आईपीओ आवेदनको नयाँ रेकर्ड, जाल्पाको आईपीओ साढे २६ लाख भन्दा बढीले भरे, ६६ गुणा बढी शेयर माग

आईपीओ आवेदनको नयाँ रेकर्ड, जाल्पाको आईपीओ साढे २६ लाख भन्दा बढीले भरे, ६६ गुणा बढी शेयर माग


बैंकिङ्ग समाचार, काठमाडौं ।
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले शुक्रबार देखि निष्काशन गरेको आईपीओमा साढे २६ लाख भन्दा बढीको आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार मंगलबार साँझ ५ बजेसम्ममा २६ लाख ५९ हजार ५४० जना आवेदक बाट ३ अर्ब २५ करोड २० लाख ५८ हजार रुपैयाँ बराबरको ३ करोड २५ लाख २० हजार ५८० कित्ता शेयरको लागि आवेदन परेको हो ।

यो सर्वसाधारणलाई छुट्टाएको ४ लाख ८७ हजार ९०० कित्ताको ६६.६५ गुणाले बढी हो ।

लघुवित्तले माघ २१ गते देखि ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरेको हो । त्यसमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई र सर्वसाधारणलाई छुट्याइएको शेयरमध्येको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ । बाँकी ४ लाख ८७ हजार ९०० कित्ता शेयरमा मात्रै सर्वसाधारणको लागि वितरण हुनेछ ।

माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार ४८ हजार ७९० जना भाग्यमानी आवेदकले मात्रै लघुवित्तको शेयर पाउनेछन् ।

हाल लघुवित्तको चुक्ता पूँजी १० करोड ७८ लाख रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी १६ करोड पुग्नेछ ।