आईपीओ निष्कासनको तयारीमा रहेको महालक्ष्मी लाईफको खुद नाफा ५ करोड माथि

आईपीओ निष्कासनको तयारीमा रहेको महालक्ष्मी लाईफको खुद नाफा ५ करोड माथि


बैंकिङ्ग समाचार, काठमाडौं ।
चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले रू. ५ करोड ३० लाखभन्दा बढी खुद नाफा गरेको छ । कम्पनीले गत वर्षको यसै अवधिको तुलनामा यो वर्ष २ दशमलव १७ प्रतिशत बढी खुद नाफा गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ५ करोड १९ लाखभन्दा बढी खुद नाफा गरेको थियो । 

यस वर्ष कम्पनीको आम्दानी ३ दशमलव २१ प्रतिशत बढी रू. ६ करोड ९८ लाख र खर्च ६ दशमलव ६४ प्रतिशत बढी रू. १ करोड ६७ लाख भएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४० करोड रहेको छ । कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गरी रू. २ अर्ब चुक्तापूँजी कायम गर्नेछ ।

जगेडा कोष रकम गत वर्षभन्दा ३७ दशमलव ५६ प्रतिशत बढी रू. २० करोड २८ लाख कायम भएको छ भने जीवन बीमा कोष रकम ५२ दशमलव ६६ प्रतिशत बढेर रू. १ अर्ब ७३ करोड ७४ लाख पुगेको छ । कम्पनीले यस वर्ष गत वर्षभन्दा ४५ दशमलव ४१ प्रतिशत बढी रू. ६९ करोड ८५ लाख कुल बीमाशुल्क आर्जन गरेको छ भने ७ दशमलव ६२ गुणा बढी रू. ७ करोड ६४ लाख कुल दाबी भुक्तानी गरेको छ । 

गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ४८ करोड ३ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो भने रू. १ करोडभन्दा बढी कुल दाबी भुक्तानी गरेको थियो । यस वर्ष कम्पनीले ३ हजार २५० बीमालेख जारी गरेको छ । गत वर्ष यो अवधिमा कम्पनीले ३ हजार ४२८ बीमालेख जारी गरेको थियो ।