स्वाबलम्बन लघुवित्तको नाफालाई राइट ब्याकको टेवा

स्वाबलम्बन लघुवित्तको नाफालाई राइट ब्याकको टेवा


बैंकिङ्ग समाचार, काठमाडौं ।

स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा लघुवित्तले २३ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.४२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १८ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेसँगै खराब कर्जा उठाउन सफल भएका कारण लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २०.६६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ०.३१ प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा अन्य सञ्चालन आम्दानी ४६.७० प्रतिशत बढेको छ भने, कुल सञ्चालन आम्दानी २६।११ प्रतिशत बढेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले ७ करोड ९३ लाख रुपैयाँ खराब कर्जा उठाएको छ। जसले नाफा बढ्न टेवा पुगेको हो।

खुद नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी भने घटेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४६ रुपैयाँ ५७ पैसा रहेको लघुवित्तको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ४ रुपैयाँ ६७ पैसा घटेर ४१ रुपैयाँ ९० पैसामा झरेको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३३.४१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २६० रुपैयाँ ४४ पैसा रहेको छ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ४१.६२ प्रतिशत बढेको छ भने जगेडा कोष १७.५३ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको सापटी २६.७६ प्रतिशत, निक्षेप ११.५६ प्रतिशत र कर्जा १९.८७ प्रतिशत बढेको छ।