लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, ज्योति लाईफ र जानकी फाइनान्सको शेयरमूल्य समायोजन

लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, ज्योति लाईफ र जानकी फाइनान्सको शेयरमूल्य समायोजन


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सोमवार तीन ओटा कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड, ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र जानकी फाइनान्स लिमिटेडको प्रस्तावित बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । 

लाईफ इन्स्योरेन्स कम्पनीको आइतवार कायम अन्तिम शेयरमूल्य रू. २ हजार ३३२ को आधारमा नेप्सेले २० प्रतिशत बोनस शेयरपछिको मूल्य रू. १ हजार ९४३ तोकेको छ । यस वर्ष लाईफ इन्स्योरेन्स कर्पोरेशनले बोनससँगै कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त लाभांश पारितका लागि कम्पनीले फागुन ११ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि कम्पनीले माघ २४ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको छ । 

त्यस्तै ज्योति लाईफ इन्स्योरेन्सको आइतवार कायम अन्तिम शेयरमूल्य रू. ७१५ को आधारमा नेप्सेले १० प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ६५० तोकेको छ । ज्योति लाईफ इन्स्योरेन्सले बोनससँगै कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश समेत वितरणको प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव कम्पनीले फागुन ६ गते वार्षिक साधारण सभामार्फत पारित गर्दैछ । उक्त सभा प्रयोजनका लागि ज्योति लाईफ इन्स्योरेन्सले माघ २४ गते एक दिन बुक क्लोज गरेको छ । 

जानकी फाइनान्सको १५ प्रतिशत बोनस शेयर प्रयोजनका लागि नेप्सेले मूल्य समायोजन गरेको छ । कम्पनीको आइतवार कायम अन्तिम शेयरमूल्य रू. ६७७ दशमलव १० को आधारमा नेप्सेले बोनस पछिको मूल्य रू. ५८८ दशमलव ७८ तोकेको छ । जानकी फाइनान्सले उक्त लाभांश पारितका लागि फागुन ७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि माघ २४ गतेदेखि फागुन ६ गतेसम्म कम्पनीले बुक क्लोज गरेको छ । 

ती कम्पनीहरुले गरेको बुक क्लोजको आधारमा नेप्सेले सोमवार मूल्य समायोजन गरेको हो । यस आधारमा माघ २३ गते आइतवारसम्म कायम शेयरधनीहरु मात्र ती कम्पनीका लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य भएका छन् ।