विजय लघुवित्तको नाफा ६.११ प्रतिशतले घट्यो

विजय लघुवित्तको नाफा ६.११ प्रतिशतले घट्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. ६ करोड ८४ लाखभन्दा बढी खुद नाफा गरेको छ । यस वर्ष लघुवित्तको खुद नाफामा गत वर्षभन्दा ६ दशमलव ११ प्रतिशतले कमि भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ७ करोड २९ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।

यस वर्ष कम्पनीको सञ्चालन नाफा १२ दशमलव ३८ प्रतिशत बढी भएपनि खराब कर्जा संकलनमा कमि आएकाले खुद नाफामा असर परेको हो । गत वर्ष रू. ८ करोड ५५ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू.९ करोड ६१ लाखभन्दा बढी यो नाफा गरेको हो । 

गत वर्ष रू. २ करोड ९६ लाखभन्दा बढी खराब कर्जा संकलन गरेको कम्पनीले यस वर्ष ४७ दशमलव ११ प्रतिशत कम रू. १ करोड ५६ लाखभन्दा बढी मात्र खराब कर्जा संकलन गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. ३२ करोड रहेको छ भने जगेडा कोष रकम रू. १९ करोड २४ लाखभन्दा बढी छ । कम्पनीले गत वर्षभन्दा ८ दशमलव १५ प्रतिशत बढी रू. ३ अर्ब १० करोड कर्जा सापटी लिएको छ भने १२ दशमलव ९६ प्रतिशत बढी रू. ४ अर्ब ५९ करोड कर्जा प्रवाह गरेको छ । 

यस वर्ष कम्पनीले १५ दशमलव ९४ प्रतिशत बढी रू. १ अर्ब ३ करोड निक्षेप संकलन गरेको छ । गत वर्ष ३ दशमलव २१ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ४ दशमलव ६३ प्रतिशत पुगेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ४२ दशमलव ७९ र प्रतिशेयर नेटवर्थ रू. १६० दशमलव १३ छ ।