सूर्योदय लघुवित्तको नाफा ६ करोड ४४ लाख बढी, पछिल्लो वर्षको तुलनामा ४४५ प्रतिशतको बृद्धि

सूर्योदय लघुवित्तको नाफा ६ करोड ४४ लाख बढी, पछिल्लो वर्षको तुलनामा ४४५ प्रतिशतको बृद्धि


बैंकिङ्ग समाचार, काठमाडौं ।
सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ४४४.९३ प्रतिशतले बढेको छ ।

लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार ६ करोड ४४ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा लघुवित्तको नाफा १ करोड १८ लाख २७ हजार रुपैयाँ थियो ।

चुक्ता पूँजी २९ करोड ७६ लाख ५१ हजार रुपैयाँ रहेको संस्थाको वार्षिक प्रतिसेयर आम्दानी ४३.३१ रुपैयाँ छ । गत आवको यसै अवधिमा ११ रुपैयाँ रहेको थियो ।

पुस मसान्तसम्म लघुवित्तले बैंक तथा वित्तीय संस्थाबाट ३ अर्ब १६ करोड रुपैयाँ सापटी तथा सदस्यबाट १ अर्ब ७१ करोड ४१ लख रुपैयाँ निक्षेप संकलन गरेर ५ अर्ब ३ करोड ४४ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

चालु आर्थिक वर्षको ६ महिनामा संस्थाको खुद ब्याज आम्दानी १७९.७१ प्रतिशतले बढेर १६ करोड १९ लाख २९ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन मुनाफा पनि ७ लाख ३७ हजारबाट उच्च वृद्धि भएर ४ करोड १० लाख ३२ हजार रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा संस्थाको जगेडा कोष ५२.८५ प्रतिशतले बढेर १९ करोड ५८ लाख १८ हजार रुपैयाँ सञ्चित भएको छ । गत आवको यसै अवधिमा जगेडा कोषमा १२ करोड ८१ लाख रुपैयाँ सञ्चित रहेको थियो ।

पुससम्म लघुवित्तको खराब कर्जा अनुपात बढेर ३.०४ प्रतिशत पुग्दा प्रतिसेयर नेटवर्थ १६५.७९ रुपैयाँ, कस्ट अफ फण्ड ६.५९ प्रतिशत र मूल्य आम्दानी अनुपात ३९.५५ गुणा छ ।