मनकामना स्मार्ट लघुवित्तको नाफा ४७ प्रतिशतले घट्यो

मनकामना स्मार्ट लघुवित्तको नाफा ४७ प्रतिशतले घट्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा लघुवित्तले १ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४७.३२ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी बढेपनि गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा कम खराब कर्जा उठाएका कारण लघुवित्तको नाफा घट्न पुगेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १३.९६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ५२ करोड ३५ लाख रुपैयाँ ऋणात्मकबाट २५ लाख ६२ हजार रुपैयाँ धनात्मक भएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ५४ करोड ३३ लाख रुपैयाँ खराब कर्जा उठाएको यस लघुवित्तले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ करोड ६ लाख रुपैयाँ मात्र खराब कर्जा उठाएको छ । जसका कारण नाफा घट्न पुगेको हो ।

खुद नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४७ रुपैयाँ ९५ पैसा रहेको लघुवित्तको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३३ रुपैयाँ २९ पैसा घटेर १४ रुपैयाँ ६६ पैसामा झरेको छ । सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात १०९.१६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ९२ पैसा रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ७२.३३ प्रतिशत बढेको छ भने जगेडा कोष १.९३ प्रतिशत घटेको छ । त्यस्तै, लघुवित्तको सापटी १३.३९ प्रतिशत, निक्षेप २१.३१ प्रतिशत र कर्जा २३.३३ प्रतिशत बढेको छ ।