लेखापरीक्षण प्रतिवेदन नबुझाउदा ११ बीमा कम्पनी बीमा समितिको कारवाहीमा

लेखापरीक्षण प्रतिवेदन नबुझाउदा ११ बीमा कम्पनी बीमा समितिको कारवाहीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
बीमा समितिले नेपाल लाइफ इन्स्योरेन्स सहित ११ बीमा कम्पनीहरुमाथि कारवाही गरेको छ ।

बीमा कम्पनीहरुको नियामक निकायले आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन नबुझाएपछि दुई सरकारी कम्पनी सहित कुल ११ वटा कम्पनीलाई १०-१० हजार रुपैयाँका दरले कारवाही गरेको हो ।

तोकिएको समयभन्दा करिब डेढ वर्षसम्म पनि ११ कम्पनीले बीमा ऐन, २०४९ को दफा २५ बमोजिम लेखापरीक्षण प्रतिवेदन नबुझाएपछि समितिले प्रत्येकलाई कम्पनीलाई १० हजार रुपैयाँको दरले जरीवाना गर्ने निर्णय गरेको हो । ती कम्पनीहरुले कानूनी व्यवस्थाको जानी-जानी उल्लङ्घन गरेकाले बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा (१) बमोजिम जरिवाना गरिएको समितिले जनाएको छ ।

समितिको कारवाहीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बीमा संस्थान, रिलायवल नेपाल लाइफ इन्स्योरेन्स, सन् नेपाल लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स, दि ओरियन्टल इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स परेको छ ।

बीमा ऐन, २०४९ र बीमा नियमावली, २०४९ बमोजिम तोकिएको समयसिमाभित्र सम्बन्धीत कम्पनीहरुले आफूले गरेको बीमा व्यवसायको हिसाब किताबको लेखापरीक्षण प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था रहेको छ । प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र बीमकहरुले मान्यताप्राप्त लेखापरीक्षकबाट गराइएको लेखापरीक्षणको प्रतिवेदन समिति समक्ष पेश गर्नुपर्ने व्यवस्था छ ।