ज्योति लाइफ इन्स्योरेन्सको दोस्रो त्रैमाससम्मको खुद नाफा १३ करोडभन्दा बढी

ज्योति लाइफ इन्स्योरेन्सको दोस्रो त्रैमाससम्मको खुद नाफा १३ करोडभन्दा बढी


बैंकिङ्ग समाचार, काठमाडौं ।
चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रू. १३ करोड ४० लाखभन्दा बढी खुद नाफा गरेको छ । 

गत वर्ष यस अवधिसम्म कम्पनीको यो नाफा रू. १० करोड ७८ लाखभन्दा बढी थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा २४ दशमलव २३ प्रतिशत वृद्धि भएको हो ।

 यस वर्ष कम्पनीले रू. १ अर्ब ७१ करोडभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्ष यस अवधिमा रू. १ अर्ब ४४ करोडभन्दा बढी कुल बीमाशुल्क कम्पनीले आर्जन गरेको थियो । यस वर्ष गत वर्षभन्दा १८ दशमलव ६२ प्रतिशत बढी कुल बीमाशुल्क आर्जन गर्न कम्पनी सफल भएको हो । 

यस वर्ष कम्पनीले रू. १ अर्ब ४४ करोडभन्दा बढी कुल दाबी भुक्तानी गरेको छ । यो रकम गत वर्ष रू. ३ करोड १ लाखभन्दा बढी मात्र थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीले ३७९ दशमलव ५६ प्रतिशत बढी कुल दाबी भुक्तानी गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब २० करोड रहेको छ । कम्पनीले यस वर्ष अघिल्लो आर्थिक वर्ष २०७६/ ७७ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव कम्पनीले फागुन ६ गतेको वार्षिक साधारण सभाबाट पारित गर्दैछ । 

कम्पनीको जगेडा कोष रकम गत वर्षभन्दा ५१ प्रतिशत बढी अर्थात् रू. ७२ करोड ९० लाख रहेको छ भने जीवन बीमा कोषमा रू. ५ अर्ब १४ करोड ४४ लाखभन्दा बढी छ । गत वर्षभन्दा ७६ दशमलव ३० प्रतिशत बढी यस वर्ष कम्पनीले बीमालेख धितोमा कर्जा प्रवाह गरेको छ ।

गत वर्ष रू. ३९ करोड ९९ लाखभन्दा बढी कर्जा प्रवाह गरेको कम्पनीले यस वर्ष रू. ५६ करोड ४५ लाखभन्दा बढी प्रवाह गरेको हो । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. १२ दशमलव १८ र प्रतिशेयर नेटवर्थ रू. १३६ दशमलव ८८ रहेको छ ।