मानुषी लघुवित्तको नाफा रू.१ करोड ५१ लाखभन्दा बढी

मानुषी लघुवित्तको नाफा रू.१ करोड ५१ लाखभन्दा बढी


बैंकिङ्ग समाचार, काठमाडौं ।
मानुषी लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. १ करोड ५१ लाखभन्दा बढी नाफा कमाएको छ ।गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनी रू. ४६ लाख ५५ हजार नोक्सानीमा रहेको थियो ।

चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा कम  रकम छुट्याउँदा सञ्चालन नाफा वृद्धि भई नाफा बढ्न टेवा पुगेको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा सम्भावित जोखिम बापतको व्यवस्थामा रू. २ करोड ९ लाख छुट्याएकोमा चालू आवको सोही अवधिमा रू. ८ लाख ९६ हजार छुट्याएको थियो । 

चुक्तापूँजी रू. १० करोड ९३ लाख रहेको उक्त कम्पनीले जगेडामा रू. ४ करोड ८१ लाख सञ्चित गरेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले  रू. ४९ करोड २३ लाख सापटि लिएर, रू. ७१ करोड ३ लाख निक्षेप संकलन गरेर रू. १ अर्ब ३२ करोड कर्जा लगानी गरेको छ । 

गत आवको दोस्रो त्रैमासमा कम्पनीको निष्क्रिय कर्जा १३ दशमलव शून्य ३ प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा घटेर ३ दशमलव ६९ प्रतिशतमा झरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू.२७ दशमलव ६७, तरलता अनुपात ५७ दशमलव ८३ गुणा,तरलता अनुपात ३ दशमलव शून्य ८ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू.१४३ दशमलव ९९ रहेको छ ।