एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
एभरेष्ट बैंक लिमिटेडको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको ऋणपत्र खरीदका लागि आवेदन दिने सोमावार अन्तिम दिन रहेको छ । माघ ३ गतेदेखि विक्रीमा आएको कम्पनीको ऋणपत्रमा छिटो अवधि माघ ६ गतेसम्म माग बमोजिम आवेदन नपरेपछि ढिलो अवधि माघ १७ गतेसम्म विक्री खुला गरिएको हो । 

कम्पनीले ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८६’ नामको प्रतिकित्ता रू. १ हजार अंकित दरका रू. २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । कुल कित्तामध्ये रू. ८० करोड बराबरको ८ लाख कित्ता सर्वसाधारणलाई बिक्री हुनेछ भने बाँकी रू. १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता भने कम्पनी आफैले व्यक्तिगत तवरबाट विक्री गर्ने जानकारी दिएको छ । 

सर्वसाधारणका लागि विक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ ।

कम्पनीको ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट ऋणपत्र खरीदका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको यस ऋणपत्रलाई केयर रेटिङ्ग नेपालले कम कर्जा जोखिमको संकेत गर्ने  ‘केयर एनपी डबल ए माइनस इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । 

सो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छ । कम्पनीले यो ऋणपत्र निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट मंसिर २० गते अनुमति पाएको हो ।