नेपाल लाइफको नयाँ बोनस दर सार्वजनिक, बीमितले अधिकतम ८२ रुपैयाँसम्म बोनस पाउने

नेपाल लाइफको नयाँ बोनस दर सार्वजनिक, बीमितले अधिकतम ८२ रुपैयाँसम्म बोनस पाउने


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ का लागि बीमा समितिबाट माघ १३ गते स्वीकृत गरेर विभिन्न प्रकारका बीमा योजनाहरूको लागि बोनस दर सार्वजनिक गरेको हो ।

जसअनुसार कम्पनीले सावधिक बीमा योजनामा प्रति हजार न्यूनतम ६० रूपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म बोनस दर निर्धारण गरेको छ । कम्पनीको सावधिक तथा आजीवन बीमा योजनामा पनि सोही बोनसदर लागू हुने जनाएको छ ।

यस्तै अग्रिम भुक्तानी बीमा योजनामा प्रतिहजार न्यूनतम ५६ रुपैयाँदेखि अधिकतम ५८ रूपैयाँसम्म र अग्रिम भुक्तानी सावधिक बीमा योजनामा प्रति हजार ६० रूपैयाँ बोनस प्राप्त गर्न सकिनेछ ।

उल्लेखित बीमा अवधि तथा योजना अनुसार कायम बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य तथा चालु बीमालेखमा समेत लागू हुने कम्पनीले जनाएको छ । साथै, बीमा समितिबाट अर्को मूल्याङ्कन प्रतिवेदन बमोजिम व्यवस्था नभएसम्मको लागि यहि बोनस दर नै कामय हुने कम्पनीले जानकारी दिएको छ ।