लक्ष्मी लघुवित्तको दोस्रो त्रैमाससम्मको नाफामा सामान्य सुधार

लक्ष्मी लघुवित्तको दोस्रो त्रैमाससम्मको नाफामा सामान्य सुधार


बैंकिङ्ग समाचार, काठमाडौं ।
लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा सामान्य बढेको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा लघुवित्तले ९ करोड २४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.२६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ९ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी बढेपनि सम्भावित जोखिम बापतको व्यवस्थामा १ करोड ७३ लाख रुपैयाँ छुट्याएका कारण लघुवित्तको नाफामा केही दबाब पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २१.३४ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३.२५ प्रतिशत बढेको छ ।

नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ८ रुपैयाँ ३५ पैसा घटेर ४८ रुपैयाँ १४ पैसामा झरेको छ । चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा लघुवित्तको प्रतिशेयर आम्दानी घट्न पुगेको हो ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २० प्रतिशत बढेको छ भने जगेडा कोष ३९.३६ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी ३१.१७ प्रतिशत र निक्षेप २२.३० प्रतिशत बढेको छ भने कर्जा २९.४९ प्रतिशत बढेको छ ।

सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३५.५२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९५ रुपैयाँ ५६ पैसा रहेको छ ।