दोस्रो त्रैमाससम्म आशा लघुवित्तले कमायो ८ करोड ७३ लाखभन्दा बढी नाफा

दोस्रो त्रैमाससम्म आशा लघुवित्तले कमायो ८ करोड ७३ लाखभन्दा बढी नाफा


बैंकिङ्ग समाचार, काठमाडौं ।
आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ८ करोड ७३ लाखभन्दा बढी खुद नाफा गरेको छ । मंगलवार सार्वजनिक कम्पनीको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष खुद नाफा २४ दशमलव ८० प्रतिशत बढी भएको हो । 

यस वर्ष कम्पनीको सञ्चालन नाफा पनि २४ दशमलव ८० प्रतिशत बढी रू. १३ करेड ८७ लाख भएको छ । सम्भावित जोखिम शिर्षकमा यस वर्ष कम रकम छुट्याएकाले कम्पनीको सञ्चालन नाफा बढेको हो ।  गत वर्ष रू. १ करोड १३ लाखभन्दा बढी सम्भावित जोखिम शिर्षकमा रकम छुट्याएको कम्पनीले यस वर्ष रू. ७५ लाखभन्दा बढी मात्र छुट्याएको हो । २५ प्रतिशत बोनस शेयर मार्फत पूँजी बढाएर रू. ३३ करोड ३९ लाख १४ हजार चुक्तापूँजी पुयाएको कम्पनीको जगेडा कोष रकम पनि ५६ प्रतिशत बढी रू. १८ करोड २० लाखभन्दा बढी कायम भएको छ । 

कम्पनीले यस वर्ष ४६ दशमलव ३० प्रतिशत बढी रू. २ अर्ब ७३ करोडभन्दा बढी कर्जा सापटी लिएको छ भने ४२ दशमलव २१ प्रतिशत बढी रू. १ अर्ब ५३ करोड १६ लाख निक्षेप संकलन गरेको छ । यस वर्ष कम्पनीले ४८ दशमलव ४७ प्रतिशत बढी रू. ४ अर्ब ७५ करोड ९२ लाखभन्दा बढी कर्जा प्रवाह गरेको छ । गत वर्ष ४ दशमलव ९८ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष घटेर ३ दशमलव ८५ प्रतिशतमा झरेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ५२ दशमलव ३४ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १५४ दशमलव ५२ छ ।