आईपीओ ल्याउने तयारीमा रहेको सिवाईसी नेपाल लघुवित्तको नाफा ६०% ले बढ्यो

आईपीओ ल्याउने तयारीमा रहेको सिवाईसी नेपाल लघुवित्तको नाफा ६०% ले बढ्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ६० प्रतिशत वृद्धि भएको छ । 

कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. ३ करोड ६३ लाख ३६ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ५ करोड ८१ लाख ६५ हजार पुगेको हो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानीमा वृद्धि भएकाले र रू. ६ करोड ४२ लाख खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएकाले नाफा बढ्न टेवा पुगेको हो । 

चालू आवको दोस्रो त्रैमासमा भने कम्पनीको सञ्चालन नाफा भने २३ प्रतिशत घटेको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीको सञ्चालन नाफा रू. ३ करोड ६ट लाख २४ हजार रहेकोमा चालू आवको सोही अवधिमा घटेर रू. ६ करोड ४२ लाख मा झरेको हो । त्यसैगरी कम्पनीको चुक्तापूँजी रू. ८ करोड २१ लाख ८ हजार रहेको छ भने जगेडामा रू. १५ करोड २८ लाख २९ हजार सञ्चित गरेको छ । 

चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. १ अर्ब १ करोड ९२ लाख सापटी लिएर, रू. १ अर्ब ११ करोड ४१ लाख निक्षेप संकलन गरेर रू. २ अर्ब ७७ करोड ४० लाख कर्जा लगानी गरेको हो । साथै कम्पनीले आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । 

कम्पनीले ३ लाख ९५ हजार ३३६ कित्ता शेयर आइपीओ निष्कासन गर्ने तयारीमा रहेको हो । उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । आईपीओ निष्कासन गर्नका लागि विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । बोर्डबाट आईपीओ निष्कासनको स्वीकृति पाएपछि मात्र कम्पनीले आईपीओ निष्कासन गर्नेछ ।