आरम्भ चौतारी लघुवित्तको आम्दानी बढेसँगै नाफा ३० प्रतिशत घट्यो

आरम्भ चौतारी लघुवित्तको आम्दानी बढेसँगै नाफा ३० प्रतिशत घट्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड (ACLBSL)को अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ३०.२५ प्रतिशतले घटेको छ । खुद ब्याज आम्दानी सहति अधिकांश आम्दानी बढेपछि लघुवित्तको खुद नाफामा उच्च गिरावट आएको हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले ४ करोड ३५ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा ६ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

अघिल्लो आवको दोस्रो त्रैमासको तुलनामा कम्पनीको कर्मचारी खर्च तथा सञ्चालन खर्चमा आएको बढोत्तरीले कम्पनीको खुद नाफा घटेको हो । यस्तै गत आवको यसै अवधिमा ३ करोड ८२ लाख बढी राइटब्याक गरेको लघुवित्तले हाल ५८ लाख मात्र गरेको छ । यसले पनि नाफा संकुचित बनेको हो ।

चुक्ता पूँजी ३० करोड ६९ लाख २३ हजार रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २८.३७ रुपैयाँमा झरेको छ । जगेडा कोषको आकार ४४.६८ प्रतिशतले बढेपछि १९ करोड १० लाख ४५ हजार रुपैयाँ सञ्चित भएको छ । संस्थाको प्रतिसेयर नेटवर्थ १६२.२५ रुपैयाँ छ ।

दोस्रो त्रैमासमा लघुवित्तले १ अर्ब ५७ करोड ९३ लाख रुपैयाँ निक्षेप संकलन तथा बैंक तथा वित्तीय संस्थाबाट ३ अर्ब ४८ करोड रुपैयाँ सापटी लिएर ५ अर्ब ४६ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । कम्पनीको सापटी ८०, निक्षेप ४८ र कर्जा लगानी ६६ प्रतिशतले बढेको छ ।

यस अवधमिा १८ करोड ८२ लाख ३८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । समीक्षा अवधिमा ४१.८९ प्रतिशतले खुद ब्याज आम्दानी बढेको हो । कम्पनीको सञ्चालन मुनाफा ४.०३ प्रतिशतले बढेर ६ करोड ३२ लाख ४८ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको खराब कर्जा अनुपात केही सुधार भएर ३.९० प्रतिशतमा रहँदा कस्ट अफ फण्ड ८।९६ प्रतिशत र मूल्य आम्दानी अनुपात (पीई रेसियो) ४३.२४ गुणा छ ।