आइएमई लाइफको बोनसदर घोषणा, बीमितले अधिकतम ७० रुपैयाँसम्म बोनस पाउने

आइएमई लाइफको बोनसदर घोषणा, बीमितले अधिकतम ७० रुपैयाँसम्म बोनस पाउने


बैंकिङ्ग समाचार, काठमाडौं ।
आइएमई लाइफ इन्स्योरेन्सले कम्पनीमा बीमा गराएका बीमितहरुका लागि अधिकतम ७० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको छ ।

कम्पनीले २०७७ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रति हजार बीमाङ्कमा न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर वितरण गर्ने तालिका सार्वजनिक गरेको हो ।

कम्पनीले उक्त आर्थिक वर्षको वित्तीय विवरण नियामक निकाय बीमा समितिबाट स्वीकृति पाएपछि बीमितहरुले पाउने बोनस दर सार्वजनिक गरेको हो ।

आथिर्क वर्ष २०७६/७७ को लागि कम्पनीले बीमा योजना र अवधिका आधारमा बोनस दर सार्वजनिक गरेको छ । जसअनुसार सावधिक जीवन बीमालेखमा र सावधिक र अग्रिम भुक्तानी तथा आजीवन बीमालेखमा बीमा अवधिको आधारमा बीमितले प्रति हजार ३० रुपैयाँ देखि अधिकतम ७० रुपैयाँ बोनस दिने भएको छ ।

यस्तै अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा ३० रुपैयाँ देखि ७० रुपैयाँसम्म, र वार्षिक अग्रिम भुक्तानी (सावधिक धन सरिता) अन्तर्गतका सबै अवधिका बीमालेखमा २० रूपैयाँ बोनसदर बीमितले पाउनेछन् ।

उल्लेखित बीमा अवधि तथा योजना अनुसार कायम बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य तथा चालु बीमालेखमा समेत लागू हुने कम्पनीले जनाएको छ ।